प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती– म गलत हो भने मलाई समाऊ
काठमाडौं, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन ।
मंगलबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन – ‘उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।’
मेयर शाहले सांसद शर्माले बालश्रम शोषण गरेको तर एमालेले कारबाही नगरेको बताउँदै आएका छन । उनले कारवाहीको मागसहित लेखेको फेसबुक स्ट्याटस सरकारले हटाउन लगाएको आशय व्यक्त गर्दै यस्तो चुनौती दिएका छन ।
प्रदेश सांसद शर्माले आठ वर्षदेखि बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको भनाइ छ। शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको बताइएको छ। शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता कामहरू लगाउने गरेको बालिकाले बताएकी थिइन्। शर्माको घरको सबै काम आफूले गर्ने गरेको बालिकाले बताएको महानगरको भनाई छ ।