भाग्यले बाँचेका आमा–छोरी जो बाढीले बगायो भिडले बचायो

सुर्खेत । उर्लिएको खोलामा खसेपछि उनिहरूको बाच्ने आश करिबकरिब सकिएको थियो । खोला तर्न राखिएको लाप्कोबाट आमाछोरीसंगै खसे भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

घटना हो मुगुको । कर्णालीकै प्रमुख शक्तिपिठ छायाँनाथ पुगेर फर्किदै गर्दा आमा र छोरी खोलामा खसे । छायाँनाथमा जनैपूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । त्यहीँ मेलामा पुगेर फर्किदै गर्दा छायाँनाथ रारा नगरपालिकाका नन्दलक्ष्मी मल्ल शाही र उनकी छोरी सपना मल्ल खोला तर्न राखिएको लाप्काबाट खसेका हुन् । आइतबार छायाँनाथको दर्शन सकेर अन्य तिर्थालुहरु सँगै घरफर्कीदै गर्दा गमगाढ खोलाको अल्का साँघुबाट उनीहरु खसेका थिए । तर संयोगबस नगर प्रहरी घटना स्थलमै रहेकाले उनीहरु बग्ने वित्तिकै केही तलबाट उद्दार गरिएको थियो ।

३५ वर्षीय नन्दलक्ष्मी र उनकी १३ वर्षीय छोरी सपनालाई तत्काल रेस्क्यू गर्दा ज्यान जोगाउन सफल भएको छायाँनाथ रारा नगरपालिकाका पर्यटन व्यवसायी देवीकृष्ण रोकायले बताए ।‘तिर्थालुहरु छायाँनाथ जाने बेला त्यहीँ खोलामा अस्थायी प्रकृतिको जाली सहितको कल्र्भट थियो । शनिवार राती आएको बाढीले सबै बगाइदियो । तिर्थालुहरुको सहजताका लागी काठको लाप्का राखेको थियो । तर्ने क्रममा आमा छोरी खस्नु भएछ, धन्न नगरको प्रहरी त्यहीँ भएकाले ज्यान जोगियो ।’

प्रहरीले दुवै जनाको उद्दार गरेर उपचारका लागी जिल्ला अस्पताल मुगु लगिएको थियो । समयमै उद्दार गरेर अस्पताल पठाएकाले खासै चोट नभएकाले सोमबार आफ्नो घर फर्किएको नगर प्रमुख भामले बताए । यो सिजनमा मात्रै छायाँनाथ दर्शन गर्न दुई हजार बढी तिर्थालु पुगेका छन् ।

खोला तर्दा जोखिम नहोस् भनेर पालिकाले १५ जना नगर प्रहरी खटाएकाले मानविय क्षती हुनबाट जोगाएको छ । आमा छोरी खसेको खोला नै बहुुप्रतिक्षित गमगढी देखी चीनको तिब्बती सीमा नाक्चेनाङ्गला जोड्ने सडक हो ।

८५ किलोमिटर दुरी रहेको गमगाढ खोलाले वर्षेनी दुःख दिन थालेपछि बेलिव्रिज बन्दैछ । आठ करोड लगानी रहेको बेलिव्रिजको ४० प्रतिशत काम सकिएको छ । खोलाको वारीपारी पिल्लर खडा गरिसकिएकाले आगामी मंसिरबाट काम शुरु गरिने नगरपालिकाले बताएको छ । गमगाड खोलाले निकै सास्ती दिने गरेको बताउँदै रोकायले भने, ‘झोलङ्गे पुल, अस्थायी कलभर्ट बनाउँदा पनि वर्खामा बाढीले बगाइदिने गरेको छ । अब पुल बनेमा सहज हुनेछ ।’

यहीँ खोलामा जोखिम मोलेर सदमुकाम गमगढी आउन छायल, माग्री, किम्री, डोल्फु, मुगु, पुलु, डोल्फु लगायतका नागरिकहरु आवतजावत गरिरहेका छन् । तत्कालका लागि गमगाढ खोलाको यात्रा सहज बनाउन पालिका, प्रहरी र स्थानीयको सहयोगमा थप तीन ओटा काठको लाप्का राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ ।