नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । लगातारजसो उच्च अंकले बढ्दै आएको नेप्से परिसूचक मंगलबार पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्से १४५.०५ अंकले घटेर दुई हजार ६ सय  ५१.३२ विन्दुमा कायम भएको हो। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि पाँच प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

आज ३२२ कम्पनीका पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर खरिद बिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आजको कारोबार रकम नेप्सेको इतिहासकै उच्च हो ।

आज नेप्सेका १३ उपसमूहकै सूचकमा गिरावट आएको छ । वित्त, होटेल तथा पर्यटन आठ प्रतिशतभन्दा धेरैले घटेको छ भने लगानी र जीवन बिमा ६ प्रतिशतभन्दा धेरैले गिरावट भएको छ। यसैगरी, बैंक, विकास बैंक, निर्जीवन बिमा र व्यापार उपसमूह पाँच प्रतिशतभन्दा धेरैले घट्दा हाइड्रोपावर र उत्पादन तथा प्रशोधन साढे चार प्रतिशतभन्दा धेरैले घटेका छन्।

आज २३३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा आठ कम्पनीको मूल्य मात्रै बढेको छ। उच्च अंकले घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कुथेली बुखारी स्मल हाइड्रोपावर ९.९७ प्रतिशतले बढेको छ। तर, आज आठ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।