पार्टी एकता असफल किन ?

जनयुद्धले दश बर्ष पार गर्दै माओवादी पार्टी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो । सँगै पार्टीमा नवसंशोधनवाद, आत्मसमर्पणवाद र क्रान्तिकारीहरु बीच भीषण वैचारिक संघर्ष चल्दै आयो।खरिपाटी, बालाजु, पालुङ्टार सम्म जनयुद्धबाट आएका प्रचण्ड, किरण, लालध्वज लगायत आम नेता-कार्यकर्ताले कार्यदिशामा व्यापक वहस, छलफल गर्दै आ-आफ्नो मत राख्दै पार्टीलाई क्रान्तिकारीहरुले नवसंशोधनवाद र आत्मसमर्पणवादका विरुद्ध लड्दै पार्टीलाई जनविद्रोहमा होम्याउन सकिन्छ भन्ने आँट र साहास गरेका थियौं। परन्तु क्रान्तिकारीहरुले नेतृत्वलाई रुपान्तरण गर्न नसकेपछी २०६९ असार ५ गते कमरेड किरणको नेतृत्वमा पार्टी क्रान्तिको लागी भन्दै जनयुद्धबाट आएको माओवादी पार्टी पहिलोपटक प्रचण्ड सँग सम्बन्ध-विच्छेद गरेका थियौं ।

प्रचण्ड सँग सम्बन्ध-विच्छेद गर्दा नेतृत्वको विशाल पङ्ती, जिल्ला पार्टी कमिटीहरु, जनमुक्ति सेनाको ठूलो हिस्सा, पुर्णकालीन नेताकार्यकर्ता बिद्रोहमा सहभागी भएका थियौं।जनताले पनि हामीलाई विश्वास गरेको अवस्था थियो। पार्टी पनि थप सुदृढ र प्रभावकारी ढङ्गले अगाडि बढाउँदै क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने हुटहुटी युवाहरूमा थियो।मेरो मन र मस्तिष्कमा पनि प्रायःजसो जनमुक्तिसेना, पार्टी पङ्ती, पुर्णकालीन कार्यकर्ताहरू क्रान्तिकै पक्षमा छौँ।

यो शक्तिलाई सही तरिकाले परिचालन गर्ने हो भने छिट्टै नै सहरिया विद्रोह गर्न सकिन्छ भन्ने विश्वास थियो। परन्तु पार्टी गठन भएको झण्डै १.५ बर्ष भित्रै २०७० मंसिर ४ गते दोस्रो संविधानसभाको चुनाव तत्कालीन प्रतिक्रियावादी सत्ताले घोषणा गर्‍यो। तर पार्टीले निर्वाचनलाई के गर्ने ? बहिष्कार, उपयोग वा तटस्थ रहने? भन्ने कुरामा पार्टी भित्र बहस र छलफल भयो । केही नेतृत्वले चुनावलाई प्रयोग गर्नुपर्छ, केहीले तटस्थ बस्नुपर्छ भन्ने धारणा राखे तर तत्कालीन युवा नेतृत्व कमरेड विप्लव लगायतको ठूलो हिस्साले चुनावलाई सशक्त तरिकाले बहिष्कार गर्नुपर्छ भन्दै व्यापक बहस र छलफल गर्दै आयो। अन्तत् चुनावलाई सशक्त बहिष्कार गर्नुपर्छ भन्ने युवा पङ्ती नै हाबी रह्यो। अन्त्यमा पार्टी चुनावलाई सशक्त बहिष्कार गर्ने निर्णयमा पुग्यो । उच्च तहका नेताहरूको चुनाव बहिष्कारको कार्यक्षेत्र विभाजन गरियो, केही नेतृत्व आ-आफ्नो कार्यक्षेत्रमा जानुभयो तर केही नेतृत्वहरु कार्यक्षेत्रमा जान मान्नुभएन। “केहि नेताहरूले त सेतै फुलेको कपालमा कालो मेहेन्दी लगाउँदै” कार्यक्षेत्रमा जानुभयो। विडम्बना भनौं धेरैजसो कमरेडहरु बम र बारुद सँग खेल्दै आफ्नो शरीर अङ्गभङ्ग हुँदा समेत पार्टीको निर्णय कार्यान्वयन गरेका थियौं। तर पार्टीका कथित मुख्य नेतृत्वहरु बादल, देव गुरुङ, पार्टी प्रवक्ता पम्फा भुसाल लगायतका नेताहरू केन्द्रिय कार्यालयमा बसेर पटकपटक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले शान्तिपूर्ण तरिकाले बहिष्कार गरेको हो आम जनतालाई मतदान गर्न आह्वान गर्दछौं भन्दै क्रान्तिकारी नेता-कार्यकर्ता र जनताहरुलाई भ्रम फैलाउने काम भयो।

चुनाव सकियो र पार्टीले चुनाव बहिस्कारको समिक्षा गर्‍यो।नवसंशोधनवाद र क्रान्तिकारीहरु बीचमा भीषण अन्तरसंघर्ष भयो। तर चुनावमा भाग लिनुपर्छ भन्ने कमरेडहरुलाई कमरेड किरणले साथ दिनुभयो। क्रान्ति गर्नुपर्छ, यो चुनावलाई क्रान्तिमा बदल्नुपर्छ भन्ने कमरेडहरु लाई पाखा लगाउनुभयो। यो दृष्टिकोणबाट राम्रोसँग थाहा हुन्छ कि कमरेड किरणमा अकर्मण्यतावाद, संकीर्णता र घुमाउरो तरिकाले संशोधनवाद छ। उहाँले नत पार्टी एकढिक्का बनाउन सक्नुभयो, नत क्रान्तिकारीहरुलाई साथ दिनसक्नु भयो। बरु घुमाउरो तरिकाले नवसंशोधनवादीहरु लाई नै साथ दिनुभयो।

उक्त चुनावपछि पार्टीमा दुईवटा दस्तावेज आयो। तत्कालीन युवा नेता विप्लवले कमरेड किरणको दस्तावेजका विरुद्ध “यथास्थितिमा क्रमभङ्गता, इतिहासको अपरिहार्यता” शिर्षकको दस्तावेज केन्द्रिय समितिमा पेस गर्नुभयो। उक्त दस्तावेज मार्फत राष्ट्रिय भेलाको माग गर्नुभयो। तर कमरेड किरणले खास चासो देखाउनु भएन, बरु पार्टी छाडेर गए हुन्छ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिड्नुभयो।तत्कालीन पार्टीभित्र राजनीतिक, वैचारिक, संगठन र संघर्षको क्षेत्रमा गति पैदा हुन सकेन। र नेतृत्वमा पनि गति आउन सकेन। बरु क्रान्तिकारीहरुलाई नै सिद्याउने र नवसंशोधनवादीहरुलाई च्याप्ने खालको क्रान्ति विरोधी प्रवृत्तिले क्रान्तिकारी पङ्तिलाई चिन्तित बनायो। यी सबै खाले प्रवृत्तिका कारणले २०७१ साल मंसिर ८ गते कमरेड विप्लवको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्‍यौं। पार्टीलाई राजनीतिक, वैचारिक, संगठानिक र संघर्षको क्षेत्रमा व्यवस्थित, सुदृढ र गतिशील बनाउँदै लगेका थियौं। तर किरणको पार्टीमा फेरि अर्को फुट आयो। बादल, देव गुरुङ, पम्फा भुसाल लगायतका नेताकार्यकर्ताहरु किरणलाई छाडेर प्रचण्डको पार्टीमा फर्कनुभयो। तर उहाँहरुले पार्टीमा केन्द्रिय समितिको बैठकको माग गरेको निकै लामो समय भएको रहेछ। किरणले कुनै हालतले बैठक बोलाउने सुरसार नै गर्नुभएनछ। तर यिनी नवसंशोधनवादमा फर्केकाहरुले छोडेपछी अझै कमरेड किरणको दृष्टिकोण प्रष्ट हुन्छ।प्रचण्डबाट विद्रोह गरेका कमरेडहरुलाई सम्हाल्न नसकेर फिर्ता हुन बाध्य बनाएको  थियो।

परन्तु हामी क्रान्तिकारीहरुले ८ बर्षमा आफ्नो जीवनमा क्रमभङ्ग गर्दै क्रान्तिको यात्रामा लामबद्व हुँदै अकर्मण्यतावादका विरुद्ध संघर्षगरी चिहानमा पुगेको क्रान्तिलाई आशावादी बनाउन सफल भएका थियौं। र २ बर्षको कठोर प्रतिबन्धलाई सबै तरिकाले झेल्दै अगाडी बढेको अवस्थामा पार्टी खुल्ला हुनेको नाममा संसदीय संशोधनवादमा छिर्न पुग्यो। क्रान्तिकारीहरुले संसदीय संशोधनवादका विरुद्ध वैचारिक संघर्ष गर्दै कमरेड कञ्चनको नेतृत्वमा २०७९ बैशाख २१, २२ र २३ गते चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेला मार्फत नेकपा (बहुमत) पुनर्गठन गर्‍यौं। विडम्बनाको कुरा त के छ भने ८ बर्षसम्म वैज्ञानिक समाजवादी क्रान्ति भन्दै व्याख्या, विश्लेषण गर्ने नेतृत्वले नयाँ जनवादी क्रान्तिको कार्यभार सहितको वैज्ञानिक समाजवादी क्रान्ति भन्दै अगाडी बढेको देखापर्‍यो। भित्री  कुरा त के रहेछ भने वैज्ञानिक समाजवाद भनेपछी कमरेड किरण सँग पार्टी एकता नहुँदो रहेछ । बरु नयाँ जनवादी क्रान्तिको कार्यभार भनी किरणलाई सहज हुनेगरी लेखेको देखिन्छ । यो केही नेतृत्वको चलाखी सहितको बेइमानी थियो । तर उक्त नेतृत्व आज आएर नयाँ जनवादी क्रान्तिको खुड्किलो हुँदै वैज्ञानिक समाजवादी क्रान्ति भनिरहेको छ।सारत: नयाँ जनवादी क्रान्तिको कार्यदिशामा लिप्त हुन पुगेको छ। अर्कोतिर पार्टी एकताको नाममा सिद्धान्तमा सम्झौता नगर्ने र व्यवहारमा लचकता देखाउनुपर्छ भनी आम क्रान्तिकारीहरुको भावनामा खेल्ने काम भयो। यसको मतलब यो थियो कि कार्यदिशामा खासै बहस भएन, संगठनमा पनि हल्का मात्रै छलफल गरेर संगठानिक एकता बन्न पुग्यो। र केही नेतृत्व पङ्तिमा एकता छिटो गर्नुपर्ने आतुरता देखापर्‍यो। यसको कारणले २०८० बैशाख १८ गते दुई पार्टी बीच एकता सम्पन्न भयो। यो एकताले एक हदसम्म क्रान्तिकारीहरुलाई उत्साहित बनायो। तर किरणको पार्टीमा भएका नेताकार्यकर्ताहरुमा भने खासै उत्साह पैदा भएको देखिएन। बरु शान्त तरिकाले बसेका थियौं, कोठा, घर र कार्यालयमा क्रान्तिका कुरा गरेकै थियौं तर यिनिहरु आएर क्रान्तिकारी गतिविधि गर्न थाले, हामीलाई पनि राज्यले दमन गर्छ भनी जनताका जनजीवन सँग सम्बन्धित समस्याहरुलाई आन्दोलनको केन्द्र बनाउनुपर्नेमा उल्टो ४/५ बर्षसम्म कुनै पनि संघर्षका कार्यक्रम गर्नुहुन्न र सकिदैन भन्ने अभिव्यक्ति जिम्मेवार नेताहरू बाट नै आउन थाल्यो। वास्तवमा यो मनोविज्ञान भनेकै आत्मसुरक्षावादी मनोविज्ञान र आफ्नो निजी जीवन, पारिवारिक स्थिति भत्किन्छ भन्ने क्रान्ति विरोधी मनोविज्ञान थियो ।

माथि उल्लेखित अवस्थाको बीचबाट पनि पार्टी एकता भएको ५/७ महिनासम्म पनि केन्द्रिय समितिको बैठक बस्न सकेन। यसको मतलब होकी क्रान्तिकारीहरुलाई राजनीतिक, वैचारिक, संगठानिक र संघर्षको रूपमा गलाउने र थकाउने, उर्जाशील कमरेडहरुलाई पनि निराश बनाउने समस्या देखापर्‍यो। परन्तु एकता पछाडी २०८० असोज १६-२१ गते केन्द्रिय समितिको एकता पछिको दोस्रो बैठक बस्यो । केन्द्रिय समितिका कुनै पनि कमरेडहरुलाई आफ्नो विचार राख्न दिइएन । बरु नेताको वरिपरी घुम्नेहरुलाई बोल्न दिएर आफुलाई मन नपर्ने नेताहरूका विरुद्ध चर्को आलोचना गर्ने काम भयो । पार्टी, संगठन र आन्दोलनलाई नवीन ढंगले कसरी अगाडी बढाउने भन्ने बिषयमा कुनै दिन चिन्ताका साथ छलफल, बहस गरेको देख्न पाइएन । तर यो बैठक पछी युवा, विद्यार्थी र केही जिल्ला समितिहरुले जनसंघर्षका कार्यहरूलाई अगाडी बढाए । यी कार्यहरुले नेताकार्यकर्ता र क्रान्तिकारी जनताहरुलाई उत्साहित त बनायो तर पार्टी भित्रका एकथरी कमरेडहरुलाई संघर्ष भए हामी दु:ख पाइन्छ कि भन्ने त्रासले सताइरहेको पाइन्थ्यो । तर क्रान्तिकारीहरुलाई यो संघर्ष कम भएको महसुस भएको थियो । विडम्बना भन्नुपर्छ, भएका जनसंघर्षका कार्यक्रमहरु लाई पार्टी नेतृत्वले कुनै दस्तावेजीकरण गर्न सकेन । बरु पार्टीको मुल नेतृत्व नै आत्मसुरक्षावादी चिन्तनको सिकार बन्दै आफ्ना वरिपरिका चाटुकार लगाएर क्रान्तिकारी संघर्षलाई अफवाह फैलाउने काम भयो। अर्कोतिर प्रिय कमरेडहरु हिरासत पुग्दा, यातना खाँदा पार्टी नेतृत्वलाई कुनै चिन्ता, चासो भएको अनुभुती आम नेताकार्यकर्तालाई भएन।बरु आफ्नो गुटलाई कसरी बलियो बनाउने ?

आफुलाई मननपर्ने नेताकार्यकर्ता र सहयौद्वाका विरुद्ध षड्यन्त्रका चाख लगाउने काम भयो। यसको एउटा मात्रै उदाहरण पार्टी गठन भएदेखी ३ नं प्रदेशमा क्रियाशील संगठन विद्यार्थीको बैठक राख्न नदिने काम भयो । बरु पार्टी संगठन बिग्रे पनि/भत्के पनि ठिक छ, कार्यकर्ता पलायन भएपनी ठिक छ तर गुटगत मानसिकता आफ्नो स्वार्थ पुर्ती गरिदिने कार्यकर्ता भर्ती गर्नुपर्ने, यदी भर्ती गर्न नपाए बैठक समेत बस्न नदिने प्रवृत्तिले घर गर्‍यो । यस प्रकारको प्रवृत्ती बाट पार्टीमा काम गर्ने र नगर्ने बीचमा अन्तरविरोध सिर्जना हुन थाल्यो।इमानदारी पुर्वक पार्टीको योजनामा काम गर्ने कमरेडहरु निराश र पलायन हुने स्थिति सिर्जना हुँदै जाने, काम नगर्ने, नेतृत्वको चाकडी/ चाप्लुसी गर्ने, चिया पसलमा बस्ने, क्रान्तिका चर्का कुरा गर्ने कमरेडहरु साँढे जस्तो हुँदै गए ।

पार्टीले गति नलिदै फेरि २०८१ बैशाख १८ मा नेकपा (मशाल) सँग पार्टी एकता गर्‍यौं । सिद्धान्तमा मालेमावादबाट पछी फर्केर माओ विचारधारा मान्न पुग्यौं । र महान जनयुद्धलाई उग्रवामपन्थी भड्काव भन्ने पश्चगामी बहसतिर धकेल्ने काम गरियो । क्रान्तिको प्रधान बिषयलाई छाडेर संघीयता लगायतका सहायक बिषयहरुमा बहस केन्द्रित गर्ने काम भयो। यो कुराले मुलतः सैद्धान्तिक र वैचारिक रूपमा महान १० बर्षे जनयुद्ध र मालेमावादलाई अनावश्यक बहसको बिषय बनाइयो । अझ भनौं कि कमरेड किरण केन्द्रिय समिती सदस्य भएको आधा शताब्दी सम्म मालेमावादको वकालत गर्दै विचार, राजनीति, संगठन, संघर्षको पक्षमा स्पष्ट पार्दै आउनुभयो। तर केन्द्रिय  राजनीतिक जीवनको आधा शताब्दीपछी, राजनीतिक जीवनकालको झन्डै उत्तरार्धमा माओवाद कि माओविचारधारा र जनयुद्ध महान र ऐतिहासिक कि उग्रवामपन्थी भड्काव भनेर बहस गर्न तयार हुनु कमरेड किरणको पश्चगामी कदम हो । आफैले निर्माण गरेको इतिहास प्रतिको धोका र गद्दारी हो। सायद हामी आफै अपराधी भएजस्तो भयौं। जनयुद्ध बिगठन भएको जस्तो अनुभुती गर्‍यौं। मालेमावादलाई माओविचारधारा भन्दा इतिहासको पाङ्ग्रा पछाडी फर्केको जस्तो आभास भयो। यो विचार सिद्धान्तलाई हेरेर कमरेड पुर्ण लगायतका नेताहरू एकता प्रक्रियामा सहभागी नभएर अलग हुनुभयो । माओविचारधारा र जनयुद्ध अपराधीक कर्म हो भन्नेहरू सँग एकता गर्नु गलत हो भन्ने निष्कर्ष निकाल्दै झण्डै केन्द्रिय तहबाटै २ दर्जन नेताकार्यकर्ताहरु पार्टीबाट अलग हुनुभयो।नेतृत्व यहाँ पनि असफल देखियो !

अब ४० बर्ष संसदीय राजनीतिमा डुबुल्की मारेका कमरेडहरु र अर्कोतिर १० बर्ष मोर्चाको आवरणमा संसदीय चुनावमा सहभागी भएका कमरेडहरु र हामी झन्डै ९ बर्ष जीवनमा क्रमभङ्गता, क्रियाशिलता र २ बर्षको कठोर प्रतिबन्धको सामना गर्दै आएका कमरेडहरुको बीचमा भएको एकताले पार्टी, संगठन, सिद्धान्त र व्यवहारको मेल हुन्छ कि हुँदैन अथवा पार्टी एकता दिगो होला कि नहोला भन्ने चिन्ताले मन र मस्तिष्कमा घर गरिरहेको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रिय समितिको एकता पछिको दोस्रो पुर्ण बैठक २०८१ असार ११ देखी १६ गतेसम्म बस्यो। यो बैठकमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा सहितको दस्तावेज बैठकमा पार्टी संयोजक क.किरणले प्रस्तुत गर्नुभयो। साथै बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा सहितको समानन्तर राजनीतिक प्रतिवेदन पार्टीका सह-संयोजक कमरेड कञ्चनले प्रस्ताव गर्नुभयो। बैठकमा मुलत दुईवटा दस्तावेज पेश भयो। यी दस्तावेजहरुमा केन्द्रिय समितिका सबै कमरेडहरुले समुहगत रूपमा सहभागी भई छलफल र बहस गर्ने निर्णय भयो। त्यस अनरुप दस वटा समुहमा विभाजन गरियो । ती दस वटा समुहबाट नयाँ जनवादी क्रान्तिको कार्यदिशाको तर्फबाट ९ जनाले मत राखे भने बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाको तर्फबाट १० जनाले समुहगत प्रतिनिधित्व गर्दै समुहमा निकालिएको मत र धारण राखे। जनयुद्धको समिक्षा र माओविचारधारा राख्नु पर्छ भन्ने विचार समुहको तर्फबाट ४ जनाले आफ्नो मत राख्ने काम भयो। यो केन्द्रिय समितिको बैठकमा सबै कमरेडहरुलाई आ-आफ्नो धारण राख्न दिनपर्ने हो। तर सबैलाई आफ्नो मत र धारण नराख्न नदिई समुहमा बोल्न बाध्य बनाइयो। यसको मतलब के हो भने जब पार्टीमा बहस र छलफल हुन्छ तब  बहस र छलफलको दायरा सांघुरो बनाउँदै लगेको देखिन्छ । जसको कारण ज्ञानको दायरा पनि सांघुरो हुँदै जान्छ। यसले क्रान्तिकारी कार्यदिशा, कार्यनीती, कार्यक्रमलाई मनोगत बनाउँदै लैजान्छ र देश र जनताको मनोभावना, आवश्यकता र वस्तुगत परिस्थितिको माग तथा नेता र कार्यकर्ताको  मनोभावना एकातिर हुन्छ भने मनोगतवादीहरुको चेतना अर्कोतिर बगिरहेको हुन्छ।त्यसपछी हावामा उड्ने क्रान्तिकारी बाहेक अरु केही हुन सक्दैन। न क्रान्ती गर्छौं, न क्रान्ती गर्ने कार्यदिशा निर्माण गर्ने तिर नै लाग्छौं। यति सम्म कि विचारमा प्रतिबन्ध लगाएपछी क. रुपेशले पार्टी एकता भएको दुई/तीन महिना भित्रै पार्टी व्यवस्थित बनाउनु पर्छ भनी आफ्नो  फरक मत सहित केन्द्रिय कार्यलयमा दर्ज गर्नु भएको थियो । तर पनि पहिलो र दोस्रो केन्द्रिय समितिको बैठकमा कमरेड रुपेशले मेरो विचार राख्न दिनुस भन्दा क. किरणले समय दिनुभएन । तर निती र विधीलाई पालना गर्दा पनि आफ्नो मत र विचार राख्न नदिनुको कारण उहाँ दार्शनिक र इमानदार नेतृत्वको खोलमा अधिभुतवादी निषेधात्मक चिन्तन देखिन पुग्यो। क. किरणले फरक मत राख्ने बित्तिकै बोल्न नदिने, बहस छलफलमा निषेधवादी डण्डा लगाउने, सामन्तवादी संगठानिक पद्धतिमा रमाउने, नेता कार्यकर्ताको सही विचारको स्वागत र स्वीकार नगर्ने, व्यवहारिक रूपमा संकिर्ण हुने लगायतको समस्याहरु पार्टी संगठनको जिवनमा मुल नेतृत्वमा नै समस्याको रूपमा देखियो।

परन्तु यो केन्द्रिय समितिको बैठकबाट सबै कमरेडहरुलाई बोल्न प्रतिबन्ध लगाएता पनि बैज्ञानिक समाजवादी क्रान्तिको विषयमा बोल्ने कमरेडहरुले वस्तुगत तथ्य र तर्क सहित दमदार विषयवस्तु राख्नुभयो। जसले क्रान्तिकारीहरुलाई उत्साहित बनायो र कार्तिक २ गते एकताको महाधिवेशन गर्ने मिती पनि तोक्यो । तर कमरेड किरणबाट नै सहमति भएको विषय भन्दा अल्पमत र बहुमत बनाएर जाने भन्ने अभिव्यक्ति आयो । पुर्व बहुमतबाट आएका कमरेडहरुलाई अल्पमतमा पारेर मशाल सहितको बहुमतको डण्डा बर्साउन सफल भयौं भनेर किरण लगायतका उहाँको नजिकका कमरेडहरु मनोगत र पुर्वग्राही रुपमा उत्साहित भए। क्रान्तिलाई गोलचक्करमा जाओस, संगठनमा जे भएपनी ठिकै छ मुख्यत नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई पास हुने निश्चित भयो भनेर रोमान्चकारीहरु रमाइरहेको अवस्था थियो । पार्टीको बैठक सकिएपछी  सबै कमरेडहरु आ-आफ्नो कार्यक्षेत्र तिर फर्कियौं। पार्टी संयोजक किरणले असार १८ गते प्रेस वक्तव्य जारी गर्नु भयो। जसमा मालेमावाद, माओविचारधारा लाई पथपर्दशक सिद्धान्त र नयाँ जनवादि क्रान्ती हुँदै बैज्ञानिक समाजवादमा जाने कार्यदिशालाई अवलम्बन गरेका छौ भन्दै पार्टीको दोस्रोपुर्ण बैठकको गम्भीर उल्लंघन गर्नुभयो।

आफुलाई जे मन लाग्छ, आफना वरिपरिका लम्पटहरुलाई जे लागेको छ त्यही लेख्नुभयो। यो प्रेस वक्तव्य आपत्तिजनक छ भन्दै पार्टीका सह-संयोजक कमरेड कंञ्चन सहित ६ जना पार्टी कार्यलयका सदस्यहरुले संयोजक कमरेड  किरणलाई भेट्न समय माग्दा पनि नभेटी बहस र छलफलबाट भाग्नु भयो। तर पार्टी एकतालाई मजबुत बनाउने भन्दा पनि स्वयं कमरेड किरण नै पार्टी एकतालाई असफल र कमजोर बनाउन लाग्नु भयो। तर क्रान्तिकारीहरुले पार्टी एकता बचाउनु पर्छ भनी हर किसिमको मिहिनेत गर्दा पनि क्रान्तिकारीहरुको मिहिनेतलाई बालुवामा पानी खन्याउने काम गर्नुभयो। एकता पश्चात क्रान्तिकारी रुपान्तरण नहुने सम्भावना भएपछि पार्टी एकता असफल भएको घोषणा गर्न बाध्य भयौं। तर पार्टी एकता गर्ने बेला हामी बैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशालाई महाधिवेशन सम्म छलफल र बहस चलाउने भन्दै नयाँ जनवादी क्रान्तिको खुड्किला हुँदै बैज्ञानिक समाजवादमा सहमतिय कार्यदिशा अवलम्बन गरेका थियौं। र संगठनमा पनि उदार भयौं।हामिलाई लाग्थ्यो कि पार्टी एकताले क्रान्ति हुन्छ तर हाम्रो उदारताले कार्यलय र सचिवालय सदस्य थप्न दियौं। हाम्रो उदारतालाई कमजोरी ठान्दै  यिनी केही होइनन जे , जसो  गरेपनी हुन्छ,संघर्ष पनि गर्न दिनु हुंदैन, जस्ता गैर-क्रान्तिकारी हर्कत हाबी भए। कमरेड किरणलाई बुझ्ने सन्दर्भमा हाम्रा केही कमिकमजोरीहरु रहन गए । क्रमशः

लेखक नेपाल कम्यनिस्ट पार्टी (बहुमत) का युवा नेता हुनुहुन्छ ।