एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।