विपक्षी मोर्चालाई कसिलो बनाउने तीन दलको निर्णय

कांग्रेस-एमाले गठबन्धनबाहिर रहेका ठूला तीन दलबीच प्रतिपक्षी मोर्चालाई प्रभावकारी बनाउन मिलेर जाने सहमति भएको छ ।

दुई ठूला दल सँगै सरकारमा गएपछि प्रतिपक्षको भूमिका कमजोर हुनसक्ने आशंका भैरहँदा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेताले सदनमा सशक्त रुपमा प्रस्तुत हुने समझदारी गरेका हुन् ।

प्रतिपक्षमा रहेका दलहरुबीचको एकता सुदृढ पार्दै सशक्त ढंगले जनताको भावना प्रतिनिधित्व गर्ने तीन दलबीच समझदारी बनेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । तीन दलले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय पनि गरेका छन् ।

त्यस्तै, नयाँ सरकार गठन गर्दा संविधान मिचिएको उनीहरुको निष्कर्ष छ । यसविरुद्ध संसदमा कुरा उठाउने र सरोकारवालामाझ बहस चलाउने निर्णय भएको पुनले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । दुई तिहाई मत जुटाउन सरकारमा भागबण्डा नपाएका जसपा नेपाल, नागरिक उन्मुक्ति, जनमतलगायतका साना दललाई पनि समेट्ने सत्तापक्षको तयारी छ ।

यसैबीच आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको थियो । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दोस्रो तहका नेताहरु पनि सहभागी थिए ।