आइफोनको लोकेसनले पत्ता लाग्यो युवतीको हत्या आरोपी

काठमाडौं । पोखराको एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् पत्ता लागेको छ।

तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय सञ्जय विक आइफोनको खोजी गर्दा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

सञ्जयले गत मंसिर ५ गते सुकुलाई होटलको कोठामा घाँटी थिचेर हत्या गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले बताए।

उनका अनुसार सुकुले आफूलाई विवाह गर्न बारम्बार दबाब दिएकाले हत्या गर्नुपरेको बयान सञ्जयले दिएका छन्। प्रहरीले पनि आइफोन र गरगहनाका लागि हत्या भएको हुन सक्ने आशंका गरेको छ।

‘अभियुक्तविरूद्ध यसअघि पनि पहिला पनि चोरी र अभद्र व्यवहारमा मुद्दा चलिसकेको रेकर्ड छ। यसका आधारमा उनले आइफोन र गरगहनाकै लागि हत्या गरेको हुन सक्ने हाम्रो आशंका छ,’ डिएसपी शर्माले भने, ‘प्रारम्भिक बयानमा विवाह गर्न दबाब दिएकाले हत्या गरेको भनेका छन्। अनुसन्धान जारी छ।’

केन्द्रीय अनुसन्धान ब्युरोले सुकुको आइफोन खोजतलास गर्दा महोत्तरीको बर्दीवास–७ का राजेश बुढाथोकीले प्रयोग गरेको भेटाएको थियो।

बुढाथोकीलाई उक्त आइफोन बागलुङको गलकोट स्थायी घर भएका सञ्जय विकले ४० हजार ५०० रुपैयाँमा बिक्री गरेका थिए। श्रीमती र छोरासहित संजय पोखराको घारीपाटनमा डेरा बस्दै आएका थिए।

बुढाथोकीलाई आइफोन बिक्री गरेका सञ्जयको पोखराको डेराबाट प्रहरीले सुकुलाई होटल लैजाँदा लगाएको द नर्थ फेसको निलो ज्याकेट र पोको कम्पनीको मोबाइल बरामद गरेको थियो। उक्त ज्याकेट सुकुलाई लिएर होटल जाँदा सञ्जयले लगाएका थिए। उनको मोबाइलमा आइफोन बोकेको सुकुको फोटो र फोन नम्बर पनि थियो।

हत्यापश्चात पोखराको डेरामा श्रीमती र छोरा छाडेर सञ्जय नवलपुरको गैंडाकोटमा डेरा लिएर लुकेका थिए। उनी कसैसँग सम्पर्कमा थिएनन्। प्रहरीले उनी लुकेर बसेको ठाउँ पत्ता लगाएपछि बुधबार बिहान साढे ५ बजे पक्राउ गरेको डिएसपी शर्माले बताए।

नवलपुर प्रहरीको सहयोगमा पक्राउ गरेर उनलाई पोखरा ल्याइएको छ।

यसअघि २०७२ सालमा सञ्जयविरूद्ध चोरी मुद्दा चलेको र २०७३ मा अभद्र मुद्दा चलेको पनि प्रहरीले जनाएको छ।

कास्की प्रहरीमा गत आर्थिक वर्ष विभिन्न अपराधमा २ हजार १३४ वटा मुद्दा दर्ता भएका थिए। जसमा १ हजार ६२२ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ५१२ वटा मुद्दा बाँकी छन्। यी मुद्दामा ८ वटा हत्या, हत्या प्रयासका १८ वटा र बलात्कारका ५२ वटा छन्।