बंगलादेशमा आरक्षण विरोधी आन्दोलन, १९ को मृत्यु

ढाका । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ ।

विद्यालय र युनिभर्सिटी यसअघिदेखि नै अनिश्चितकालीन बन्द रहेकोमा बिहीबारदेखि राजधानी ढाकामा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । बिहीबार मृत्यु हुनेमा ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन समेत छन् ।

हजारौँ प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेश टेलिभिजन (बीटीभी)को ढाकास्थित कार्यालयमा समेत आगो लगाएका छन् । आगलागीपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए । सरकारले देशभर सुरक्षा अलर्ट जारी गरेको छ ।

बंगलादेशमा नोकरीमा आरक्षणको विरुद्धमा आन्दोलन चर्किएको हो । बंगलादेशमा सरकारी नोकरीमा देशको स्वतन्त्रताका लागि लड्ने व्यक्तिका छोराछोरीलाई आरक्षण दिने गरिएको छ । सन् १९७१मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । आलोचकहरूले आरक्षणको यो व्यवस्था बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समर्थन गर्ने सरकार समर्थक समूहका बालबालिकालाई अनुचित लाभ पुर्याउने खालको भएको आरोप लगाएका छन् ।

हसिनाले गएको जनवरीमा लगातार चौथोपटक चुनाव जितेकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुररहमानकी छोरी हुन् ।
बंगलादेशमा पछिल्ला केही दिनदेखि सरकारी नोकरीमा आरक्षणको यो व्यवस्थाविरुद्ध प्रदर्शन भइरहेको छ । यो भन्दाअघि हप्तौं भएको विरोध प्रदर्शनपछि २०१८मा भर्नाको यो व्यवस्थामा रोक लगाइएको थियो ।

पछिल्लो महिना एक अदालतले आरक्षणलाई फेरि एक पटक वहाल गरेको थियो । यसकैविरुद्धमा आन्दोलन चर्किएको हो । बीबीसी