क्रान्ति र संशोधनवाद

जब विश्वमा मार्क्स र एङ्गेल्सले श्रमिक मजदुरको अधिकार ल्याउन आफै लड्नुपर्ने विचारको विकास गर्दै श्रमिक मजदुर, किसान उत्पीडित विश्वका जनसमुदायहरूलाई आफ्नो अधिकार ल्याउने विज्ञानको विकास गरि विश्वका उत्पीडित जनताहरूले तमाम देशहरूमा क्रान्ति सम्पन्न गरेर जीत हासिल गर्दै जनताको सत्ता ल्याउन सफल भएका थिए । यो अवस्था सँगसँगै  रुस, चीन, क्युवा, भियतनाम र उत्तरकोरिया लगायतका दर्जनौं देशहरूमा समाजवादी सत्ता ल्याउन सफल भएका थिए । तर मार्क्सवादी विचारको विकास सँगै संशोधनवाद र प्रतिक्रान्तिकारीहरूको जन्म हुन पुग्छ । विशेष गरि मार्क्सवादका तिनवटै संगठक अंग दर्शन, राजनितीक अर्थशास्त्र र वैज्ञानिक समाजवाद लाई तोडमोड गरेर तमाम प्रकारका संशोधनवादी, अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरूले मार्क्सवादका वैज्ञानिक विचारधाराभित्र घुस्न पुग्छन तब संशोधनवादको जन्म हुन पुग्छ ।

प्रुंध्रो, लासाल जस्ता अवसरवादी काल्पनिक समाजवादी र बर्निस्टिन लगायतका संशोधनवादीहरूले मार्क्सवादी विचारलाई संशोधन गर्ने प्रस्ताव अघिसार्दै दर्शनको क्षेत्रमा काण्टवाद, प्रत्यक्षतावाद, अनुभववाद, व्यवहारवाद, प्राधिकारवाद, भडुँवावाद, विकासवाद र सारसंग्रहवादलाई आत्मसात गर्दै आएको थिए । व्यावहारिक परिणाममा द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादविरुद्ध यसले अधिभुतवाद र आदर्शवादको पक्षपोषण गर्दै राजनितीक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मूल्य सिद्धान्तको विरोध गर्नु र साम्राज्यवादलाई प्रगतिशिल समृद्ध समजवाद उन्मुख देख्नु नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वस्फूर्तवाद उत्पादक शक्तिको सिद्धान्त अगांल्नु जस्ता कुरा यसका मुलभूत विशेषता हुन् । यी संशोधनवादीहरूका विरुद्ध वैचारिक संघर्ष गर्दै आफ्नो कार्यकालमा मार्क्स, एङ्गेल्स, स्टालिन, लेनिन र माओ लगायतका क्रान्तिकारीहरूले संशोधनवादका विरुद्ध भिषण लाईन संघर्षगर्दै पार्टी र क्रान्तिलाई मार्क्सवादी सिद्धान्त रणनीति- कार्यनीति र कार्यक्रमलाई सहि तरुकाले लागू गर्दै विश्वमा वैज्ञानिक समाजवादको झण्डा फहराउन सफल भएका थिए ।

नेपालमा पनि ख्रुस्चेव लगायका तमाम प्रकारका संशोधनवादीहरूको जब्बर प्रभाव नेपालको कम्युनिस्ट पार्टीको स्थापनाकाल देखिनै दक्षिणपन्थी संशोधनवाद र आत्मसमर्पणवाद घुस्न सफल भयो । नेकपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट नै दरबारियाहरूले पार्टीको नेतृत्व कब्जा गर्न सफल भएका थिए । मनमोहन अधिकारीले क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट नै बञ्चित गर्ने षड्यन्त्रपुर्ण कृयाकलापको सुरुवात गराएका थिए । त्यसले तत्कालिन नेकपाका महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्विकार गर्ने र शान्तिपूर्ण तरिकाबाट समाजवादी क्रान्ती सम्पन्न सर्तमा ५ वर्षदेखी पार्टीमाथी लगाउँदै आएको प्रतिबन्ध हटाईपाउँ भनेर तत्कालीन सरकारसँग आत्मसमर्पण गर्दै महाराजलाई चिट्ठी लेखेका थिए । तर पार्टीमाथी लगाएको प्रतिबन्ध हटाएको थियो परन्तु वर्गसंघर्षको कार्यदिशा परित्याग गरि वर्ग समन्न्वयवादी र संशोधनवादी नीति अगाँल्न पुगेका थिए । र यी व्यक्ती नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्ती संशोधनवादको फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी नै हुन । यिनको निम्न पुँजीवादी चिन्तन सर्वहारा-मजदुर किसान प्रती उत्तरदायी थिएन । बरु कम्युनिस्ट आन्दोलनलाई बेचेर हुन्छ कि के गरेर हुन्छ संशोधनवादलाई नै बलियो बनाउन र कम्युनिस्ट आन्दोलनलाई कम्जोर बनाउदै नेपालका तत्कालीन महाराजसँग लम्पासार परेका थिए ।
नेकपाको दोस्रो माहादिवेशनबाट पार्टीको महासचिवमा निर्वाचित भए, केशरजंग रायामाझी झन दरवादपरस्त नेता भएर निस्किए । यो पनि क्रान्तिकारी नेता- कार्यकर्ता र क्रान्तिकारी जनताहरूका लागि दोस्रो धोका थियो ।

केही समयपछि तत्कालिन राजा महेन्द्रले सैन्य ‘कू’ गरेर बहुदलीय व्यवस्थालाई अपदस्त गरि निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेका गरे । निरंकुश राजाको सो कदमलाई सहि कदम हो भनी कम्युनिस्ट नेता भनिने केशरजंग रायमाझीले राजाको साहसिक कदम भनेर स्वागत गरेका थिए । कम्युनिस्ट पार्टी र आन्दोलनलाई दरवारमै राजाको पाउमा भेटी चढाएका रायमाझीलाई क्रान्तिकारीहरूले राजावादी गद्दार घोषित गरि निस्कासन गरिसकेपछि राजाले रायमाझीलाई राजपरिषद सभापती बनाईएको थियो । कम्युनिस्ट पार्टीका नाममा आएका नेताहरूलाई जनताले विश्वास गरेपछी आन्दोलन र क्रान्तिलाई धोका दिँदै संशोधनवाद प्रतिक्रान्तिमा रुपान्तरण हुने समस्या नेपालको कम्युनिस्ट आन्दोलन जन्मेको केही वर्षभित्रै देखा पर्‍यो । 

नेकपाको तेस्रो राष्ट्रिय महादिवेशनले तुल्सीलाल आमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो तर त्यस महादिवेशनले नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरि राष्ट्रिय प्रजातन्त्र नाम दिइएको पुँजीवादी संसदिय व्यवस्थालाई सहयोग हुंने कार्यदिशा पारित गर्‍यो । यो महादिवेशनले पनि क्रान्तिकारीहरूलाई एकढिक्का बनाउन नसकेको कारणले पार्टी टुटफुट हुँदै क्रान्तिकारीहरूमा निराशा पैदा हुँदै अब कसरी क्रान्तिकारी आन्दोलनलाई संगठित गर्ने भनी स-सना ग्रुप र व्यक्ती-व्यक्तीमा बहस छलफल हुँदै जान थाल्यो यद्यपि आन्दोलन भने संगठित हुनसकेन । यी मध्ये केही क्रान्तिकारीहरूले झापा आन्दोलनको सुरुवात गरे । यो सुरुवातले संशोधनवादीहरूलाई निराशा र क्रान्तिकारीहरूलाई उत्साहित बनाउने काम त गर्‍यो । परन्तु यो आन्दोलनले गति लिन सकेन फेरि पनि क्रान्तिकारीहरूलाई एकताबद्ध बनाउन सकेन भने आन्दोलन टुटफुट र विभाजन तिर गयो। विचबाट केही क्रान्तिकारीहरूले भित्रीरूपमा क्रान्ति गर्नुपर्छ भनेर छलफल – बहस गरिराखेको अवस्था थियो परन्तु २०४६ सालको जनआन्दोलनले निर्दलिय पञ्चायत फालेर बहुदलीय व्यवस्थाको आयो भन्दै फेरि एकथरी कम्युनिस्टहरूले संशोधनवादको आहालमा डुबुल्की मार्दै संशोधनवादी नेता मदन भण्डारीले जबज (जनताको बहुदलीय जनवाद ) नेपाली क्रान्तिको नविनतम कार्यक्रम भन्दै ख्रुस्चेवी आधुनिक संशोधनवादी लाईन पारित गराउन सफल भए । यद्यपि क्रान्तिकारीहरू राजनीतिक वैचारिक र  संगठनलाई व्यवस्थित गर्दै क्रान्तिको तयारीमा लागेको अवस्था थियो ।
मदन भण्डारीको जबज ख्रुस्चेबी आधुनिक संशोधनवादको नेपाली संस्करणका विरुद्ध क्रान्तिकारीहरूले लामो तयारीका साथ २०५२ फाल्गुन १ गते महान जनयुद्धको घोषणा गर्दै जनताको जनमुक्ति सेना, जन- अदालत, आधार ईलाका बनाउँदै सयौँ प्रहरी चौकी कब्जा र दर्जनौं शाही नेपाली सेनाका ब्यारेक कब्जा गरेर एकपछि अर्को सफलता हासिल गर्दै विश्वका तमाम पुँजीवादी र संशोधनवादीहरूको मुटु हल्लाईदिएको थियो । जनयुद्ध चौतर्फीरूपमा अघि बढिरहेको थियो । जनयुद्ध कहाँ सम्म विकाश भएको थियो भने यसले शाही सेनाका ब्यारेक कब्जा मात्रै गरेको थिएन यसले त नेपालका शोषित उत्पीडित जनताको चेतनालाई उचाईंमा पुर्‍याएको थियो । यसले रक्तपातभन्दा पनि जनतामा नवीन चेतना र नवीन शिक्षाको रक्तसञ्चार गर्दै अघि बढेको थियो  ।

जनयुद्ध सुरुभएको ५ वर्षपछी जब २०५७ सालमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजना भयो । त्यो सम्मेलनबाट नै पार्टी भित्रका केही नेताहरूलाई संशोधनवादको हावाहुरीले छुन थाल्यो । यो सम्मेलनको झण्डै एकवर्ष पछि दाङको शाही नेपाली सेनाको ब्यारेकमा जनमुक्ति सेनाद्वारा धावा बोल्नेकाम भयो । जसमा जनमुक्ति सेनाले अपार सफलता हासिल गर्‍यो । यसले जनता र पार्टीमा नयाँ उर्जा थप्यो ।
यता पार्टीभित्रका संशोधनवादीहरूमा भने निराशा पैदा भयो । यसपछि प्रचण्ड – बाबुरामका विच पार्टीलाई कता लैजाने भन्ने विषयमा बहस – छलफल र कार्वाही सम्मका हर्कत भएका थिए । यसैको निरन्तरतामा बाबुराम भट्टराईलाई कार्वाही फुकुवाको नौटङ्की गरि फौजी कार्वाहीलाई प्रतीआक्रमणको चरणमा पुर्‍याउँदै राजनितीक वैचारिक, संगठनिक र आधारईलाकालाई अझै मजबुत बनाउने बनाउँदै नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई विकास गर्दै वैज्ञानिक समजवादी क्रान्तिको कार्यदिशा लागू गर्नुपर्नेमा उल्टै लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पास गरि पुँजीवादी-नवसंशोधनवादमा जनताले लडेको जनयुद्धको अन्त्य गर्नतिर नेतृत्व लागि पर्‍यो । यसको परिणामस्वरूप २०६२ मंसिर ७ गते पुराना संसदवादी दलहरूसँग भारतमा १२ बुदे सम्झौता गरियो । यस लगत्तै पार्टी शान्तिप्रकृयामा आयो । २०६३ मंसिर ५ गते सरकार र माओवादीविच बिस्तृत शान्ती सम्झौता संगै दश वर्षको अन्त्य भएको घोषणा गरियो । परन्तु नवसंशोधनवाद प्रचण्ड र बाबुराममा देखा पर्‍यो । १० वर्षे जनयुद्धले निर्माण गरेका आधारईलाका जनअदालत, जनकम्युन, जनसरकार र जनताको आफ्नो प्यारो जनमुक्तिसेनाको बिघटन गरि जनताको सत्ता प्राप्त गर्ने अवसरबाट जनतालाई बन्चित गराउँदै दलाल संसदीय व्यवस्थालाई सुदृढ गर्ने काम भयो । यो नेपाली जनतामाथि माओवादी मुल नेतृत्वबाट धोकाधडी गर्ने काम थियो ।  अर्कोतर्फ जीवनभरी क्रान्तिकारी हुन्छु अधुरो क्रान्तिपुरा गर्छु भनी १२ जना सहिद र २ देखी ३ हजार जना सम्म नेता कार्यकर्ता र हजारौं जनता जेलनेल यातना खाँदै अगाडी बढिरहेको एकीकृत जनक्रान्ति पनि नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परिरहेको पुरानै संशोधनवादी रोगको सिकार हुन पुग्यो ।

एकातिर एकीकृत जनक्रान्तिका तत्कालीन नेतृत्व केपी ओलि सरकारसँग तिनवुदे सम्झौता गर्दै नवसंसोधनवादमा डुबुल्की मार्न पुगेका छन् भने अर्कातिर नेपाली जनता समजवाद प्रेमी भएकाले जनमतसंग्रहबाट नै वैज्ञानिक समजवाद आउँछ भन्ने मृगमरिचिकामा रमाएका विप्लवले समाजवादी मोर्चा ती दलसँग गठन गरेका छन् जसले कम्युनिस्ट नामको साईनबोर्ड झुण्ड्याएर संसदवादी संशोधनको व्यापार गरिरहेका छन् । नाममा जे-जे भनेता पनि यो मोर्चाको काम क्रान्तिप्रेमी जनताहरूमा भ्रम फैलाउँदै सत्ताका लागि मिसन २०८४ बाहेक अरु केही होइन ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना पछिल्ला सबै संगठनिक प्रणाली २०८४ को संसदीय चुनावकेन्द्रीत बनाएको छ । यसले के भन्दै छ भने अब एकदलीय प्रणालीको काम छैन बहुदलीय प्रणाली नै ठिक छ । भन्नाले बहुलबादलाई आत्मसात गर्दै संसदिय संशोधनवादमा विप्लव नेकपाको पतनको जब्बर नमुना हो । यसले मदन भण्डारीको जबजलाई भित्रीरूपमा आत्मसात गरेको देखिन्छ ।
संसद भन्दा बाहिर रहेका क्रान्तिकारी पार्टीहरुले पनि चुनावमा नजाने क्रान्तिकारी नै हौँ भन्ने तर मोर्चको नाममा चुनावमा जाने प्रवृतिले पनि सच्चा क्रान्तिकारी नेताकार्यकर्ता र आम क्रान्तिप्रेमी जनसमुदायहरूलाई भ्रम सिर्जना गरेको अवस्था छ । यतिसम्म कि व्यवहारमा मोर्चाको नाममा काङ्ग्रेसको चुनाव चिन्हमा चुनाव लड्ने र मुखले क्रान्तिका कुरा गर्दै जानेहरूपनि छदम नवसंशोधनवादी, अकर्मण्यतावादी र जडसुत्रवादी हुन भन्ने कुरा जनताका सामु प्रष्ट नै छ । तर यिनिहरूले संगठन संघर्ष भन्दै क्रान्तिको रटान लगाउँन छोड्दैनन संघर्षका हिसाबले १० वर्षसम्म एउटा नेपाल बन्द गर्न पनि गार्‍हो हुन्छ र किसान-मजदुर-सुकुम्बासी आम उत्पीडित जनसमुदायको माझमा पुगेर दुईचार जनाको संगठन निर्माण गर्ने आँट सम्म गर्दैनन् बरु के गर्छन् भने सहरमा कार्यालय खोलेर लेबी उठाउने, दुईचार महिनाको एकपटक वैठक राख्ने जस्ता औपचारिकतामा सिमित केहि कर्मकाण्ड गर्छन् । संसदवादी व्यावहार देखाउँदै जान्छन्  यिनिहरू थाहाँनै नदिएर घुमाउरो पाराले नवसंशोधनवादको नै सेवा गर्न पुगेका हुन्छन् । तर लेनिनले मार्मिक ढङ्गले भन्नू भएको थियो आधुनिक संशोधनवादसंग केवल शास्त्रीय बहसद्वारा मात्रै लड्न खोज्नु मूर्खता हुने छ । आज हामिले पनि संशोधनवाद संग शास्त्रीय बहसद्वारा लड्नु खोज्नु नेपालको कम्युनिस्ट आन्दोलन लाई पुनःचियानमा पुराउनु जस्तो हो। परन्तु नेपालको कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै संशोधनवादको जन्महुन पुगेको थियो । त्यो अवस्थादेखि आजसम्म निरन्तर संशोधनवादी कम्युनिस्ट नेताहरू १०-१०/१५-१५ वर्षमा आएको अवस्था छ । हामीले नि यस्तो संशोधनवादी प्रवृतिको सही तरिकाले अध्ययन अनुसन्धान नगरिकन अर्को क्रान्ति या आन्दोलन उठाउन सक्ने छैनौं । त्यसैले नेपालमा क्रान्ति सफल पार्नका लागी कम्युनिस्ट आन्दोलन भित्र जन्मिने संशोधनवादका कारणहरूको गहिरो चिरफार गरी अगाडि बढ्नुपर्ने देखिन्छ । यसको सहि चिरफार नगरी हामी आधुनिक क्रान्ति गर्न त परको कुरा आफै क्रान्तिकारी बन्न पनि सक्दैनौं । परन्तु हामीले संगठनात्मकरुपले चौतर्फी बिकास र बिज्ञान प्रबिधिलाई क्रान्तिको साधनको रुपमा प्रयोग र मार्फत दलाल सत्तालाई फाल्दै वैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन एकजुटै हौं । क्रमश;..!  लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता हुनुहुन्छ ।