केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य : मसाल

काठमाडौँ, नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्यपूर्ण बताएको छ। ओलीको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने मसालको ठहर छ।

महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री ओली अधिनायकवादी, स्वेच्छाचारी स्वभाव र हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम रहेको भन्दै उनमा इमानदारिताको अत्यन्त अभाव रहेको बताएको छ।

मसालले तुलनात्मक रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई इमानदार बताएको छ भने माओवादीको चरित्र अविश्वसनीय र अवसरवादी रहेको स्पष्ट पारेको छ। ओलीको नेतृत्वमा संविधान संशोधनमार्फत लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथिको खतरा रहेको मसालले औँल्याएको छ।