क्रान्तिकारीहरुमा एकता र रुपान्तरणको आवश्यकता

“प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्त्व हो”। “दार्शनिकहरुले विभिन्न किसिमबाट जगतको व्याख्या गरे, तर मुख्य कुरा त जगतलाई बदल्नु हो।”
– कार्ल माक्स

सर्वहारा वर्गीय दर्शनका प्रवर्तक वा जन्मदाता कार्ल माक्र्सले यस प्रकारले आर्दशवाद तथा अधिभुतवादी दर्शनका विरुद्धमा द्वन्दात्मक तथा एतिहासिक भौतिकवादी दर्शनको महत्त्वपूर्ण विशेषता उल्लेख गर्नु भएको छ। माथी उल्लेखित दर्शनका विशेषताहरुबाट हामी क्रान्तिकारीहरुले यश अर्थमा बुझ्न सक्दछौँ कि माक्र्सवादी दर्शन भनेको त्यस प्रकारको दर्शन हो, जस्ले आफ्नो समय र युगलाई गहनतापुर्वक बुझने र त्यसलाई बदल्ने सक्ने वैज्ञानिक र गतिशील विश्व दृष्टिकोणको निर्माण गर्नु हो। तर समय र युगको गति र विशेषतालाई गम्भीरतापुर्वक अध्ययन नगरिकन इतिहासमा मात्र सिमित हुने कम्युनिस्ट नेताहरु अधिभुतवाद र जडताको दलदलमा फस्न पुगेर आजको युगलाई बुझ्ने र बदल्ने नेतृत्वमा रुपान्तरण हुन सक्दैनन् ।

वास्तवमा यसप्रकारको नेताहरु इतिहास र माक्र्सवादको व्याख्याता र प्रोफेसर मात्र हुन पुग्दछन् तर तिनले आफ्नो युगको गतिसँगै आफ्नो दृष्टिकोणलाई रुपान्तरण गर्न नसक्दा पार्टी र क्रान्तिको भविस्यलाई जडता र अकर्मण्यतामा लगि अन्धकार र मृत बनाउनु पुग्दछन। त्यसकारण हामिले हाम्रो क्रान्ती र माक्र्सवादी विश्व दृष्टिकोणलाई जिवित बनाइराख्न हामिले सदैव हाम्रो सैद्धान्तिक, वैचारिक, राजनितिक, सैन्य, सांगठनिक, आर्थिक, सांस्कृतिक र क्रान्तिकारी पाइलाहरु इतिहासमा मात्र सिमित नगरिकन आजको समय र युगको गतिको प्रवाह सँगै सचेततापुर्ण पाइला चाल्न सक्नु पर्छ । तर पछिल्लो चरण हामिले ध्यान दिनुपर्ने विचार र प्रवृत्ति भनेको गतिशीलताको नाममा माक्र्सवादको आधारभूत सिधाान्तहरु छोडन पुगि घुमाउरो तरिकाले जर्मनीका निम्न पुँजिवादी नेता एडुअर्ड बर्निस्टन र तत्कालीन सोभियत संघका सरकार प्रमुख र पार्टीका महासचिव खुस्चेभी संशोधनवादी लाइनमा उभ्याउन पुगिरहेका छन, जो पुँजिवादी साम्राज्यवादको पक्षपोषण गर्दछन । भने अर्को प्रवृत्ति यस्तो खालको छ – माक्र्सवादी कम्युनिस्ट सिद्धान्तलाई आजको युग गतिसँगै अगाडी बढाउन नसक्दा स्थिरतामा रहन गइ जडतामा फस्न पुगेका छन् । त्यसकारण यी दुवै गतिहीन, जडसुत्रवादी र कथित गतिशील नवसंशोधनवादी माक्र्सवादी विरोधी विचारबाट हामिले सचेततापुर्वक पहल गरि आजको समय र युगको ठोस, वैज्ञानिक, गतिशिल र परिपक्व विचारको निर्माण गरि क्रान्तिशास्त्रमा पारंगत हुँदै क्रान्तिलाई अगाडी बढाउदै आजको युगको नेतृत्व गर्नुपर्छ । यद्यपी हामीले बुझनु पर्ने कुरा सन १९५९ को क्युबन क्रान्तिपछी अथवा कमरेड माओत्सेतुङले चिनमा महान सर्वहारा सांस्कृतिक क्रान्ती संचालन गरिरहँदा सन १९७६ मा उहाँको निधन भए पश्चात विश्व कम्युनिस्ट आन्दोलनमा पुँजिवादी संशोधनवादी विचारहरु हाबी हुन पुगेका छन् ।

२० औं शताब्दीमा क्रान्ति सम्पन्न भएका देशहरुमा पनि माक्र्सवादका आधारभुत सिद्धान्तहरुलाई परित्याग गर्न पुगेका छन । क्रान्तिकारीहरुमा विचारको अस्थिरता, जडता, अकर्मण्यताको दलदलमा फँसी अलमलिएका छन् । पुँजिवादी संशोधनवादी र जडसुत्रवादी विचारलाई परास्त गर्ने वैचारिक, राजनितिक, सांगठनिक, सांस्कृतिक, सैनिक हतियारको निर्माण र विकास गर्ने सन्दर्भमा गम्भीर प्रकारका चुनौतीहरु खडा भएका छन् । प्रकृति विज्ञानमा भएको खोज अनुसन्धान र विकासलाई दर्शनशास्त्र र समाजशास्त्रमा जोडन सकिएको छैन् । यसरी हेर्दा २१ औं शताब्दीमा कम्युनिस्ट आन्दोलन गतिहीन, दिशाहिन हुनको साथै विकेन्द्रीकरण हुन पुगेको छ । त्यसकारण कम्युनिस्ट आन्दोलन र माक्र्सवादको मुटुमा छुरा प्रहार गर्ने गैरमाक्सवादी विचार र चुनौतीहरुलाई पराजित गर्दै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई आजको युग र समय सँगै अगाडी बढाउने सर्वहारा वर्गीय विचारका साथ हामीले नितान्त क्रान्तिलाई केन्द्रमा राखेर तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बिच २०८० साल वैशाख १८ गते मालेमावादी सिद्धान्तलाई मार्गनिर्देशक सिदान्त मान्दै विभिन्न प्रकारको राजनैतिक र वैचारिक मतभेदलाई एकताको महाधिवेशनमा हल गर्ने भन्ने उदेश्यका साथ सांगठनिक रूपमा पार्टी एकता सम्पन्न गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन गर्यौँ । हामीले हाम्रो वैचारिक, राजनैतिक मतभेदहरुलाई निरन्तर छलफल बहसलाई अगाडी बढाउनुको साथसाथै हाम्रो दुई पार्टी बिचको एकताको प्रक्रियामै सँगै एकता हुने भनेको नेकपा (मशाल) पनि करिब एक वर्ष पछि पुन एकताको बहसलाई अगाडी बढाउदै २०८१ साल वैशाखमा क्रा.क.पा., नेपाल र नेकपा (मशाल) बिच पार्टी एकता सम्पन्न भयो र पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नै राख्न सहमती भयो। यसरी गतिहीन, दिशाहिन र विकेन्द्रीकरण कम्युनिस्ट आन्दोलन केन्द्रीकृत गर्दै गतिशीलतामा रुपान्तरण गर्ने कोणबाट पार्टी एकतालाई सकारात्मक रूपमा ग्रहण गर्नु पर्दछ। साथै हामी सबै नेता कार्यकर्ताहरुले षड्यन्त्र, आवेग, पुर्वाग्रह, जडता, उग्रता र मनोगत धारण र विचारहरुलाई त्याग्नै पर्दछ। हामिले द्वन्दात्मक तथा एतिहासिक भौतिकवादी दर्शन र मालेमावादलाई सही र वैज्ञानिक रूपमा प्रयोग गर्दै आजको विशेषता अनुसारको राजनीतिक र सैन्य कार्यदिशाको विकास गर्नु पर्दछ । तर हाम्रा पाका र अनुभवी नेताहरु अझै पनि जडता, पुर्वाग्रह, षड्यन्त्र, गलाउने, बहसको वातावरण सिर्जना नगर्ने, बैठकका निर्णयहरुमा बेइमानी गर्ने, एकतालाई भाडने र खलल पुर्याउने, मनोगत आधारमा धारणको विकास गर्दै र त्यो अनुरुप व्यवहार गरिरहेको देखिन्छ । म उदाहरणको लागी यही मिति २०८१ असार ११ गते देखी १६ गते सम्म काठमाडौमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पुर्ण बैठक सम्पन्न भयो । उक्त बैठकमा मुलभुत रुपमा राजनीतिक प्रतिवेदन, निति तथा कार्यक्रम सम्बन्धी राजनितिक प्रस्ताव पार्टीका संयोजक क. किरणले नयाँ जनवादी क्रान्ति र त्यसको समानान्तर राजनितिक प्रस्ताव पार्टीका सह-संयोजक क. कञ्चनले बैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा प्रस्ताव गर्नुभयो । यो राजनीतिक, वैचारिक मतभेदलाई आउँदो कार्तिक २ गतेबाट सुरु हुने एकताको महाधिवेशनबाट हल गर्ने बैठकको राजनीतिक सहमतिलाई लत्याउँदै पार्टीका संयोजक क. किरणले यही असार २० गते मुलबाटो अनलाइनमा प्रकाशित प्रेस विज्ञप्तिमा “केन्द्रिय संगठन समितिको बैठकमा माक्र्सवाद- लेनिनवाद- माओवाद- माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्बन गरेको हाम्रो एकता महाधिवेशनलाई सफलतापुर्वक तथा सानदार रुपमा सम्पन्न गर्नका लागी विशेष जोड दिइएको छ”। यो सरासर बैठकको सहमतिको विपरीत गरेको राजनीतिक गद्दारी र बेइमानी हो।

माओवाद, राजनीतिक कार्यदिशा र अन्य राजनीतिक वैचारिक मतभेद यथावत रहिरहेको अवस्थामा नयाँ जनवादी हुँदै बैज्ञानिक समाजवाद जाने भनेर पार्टी संयोजकले विज्ञप्तिमा समेटदा एकतालाई मलजल गरेर सुदृढ र मजबुत बनाउने भन्दा पनि सिंगो पार्टी, क्रान्ति र आन्दोलनलाई कमजोर बनाएर जडता र अकर्मण्यताको अन्धकार गुफा भित्र धकेलेको देखिन्छ। यसरी पार्टीका केही पंक्तिले जवरजस्त विभाजन, जडता, अकर्मण्यतामा लान खोजिएको भएपनी हामीले यसलाई चिर्ने क्रमश निती, कार्यक्रम, योजना ल्याउदै झन गतिशिल क्रान्तिकारीहरुका बिचमा सुदृढ र मजबुत एकता गर्ने, हाम्रो विश्वदृस्टिकोणलाई आजको समय र युगको गति सँगै अगाडि बढाउदै कार्तिक २ गतेको एकताको महाधिवेशनलाई विचारहरु बिचको संघर्ष र आन्दोलनको महाधिवेशनमा परिणात गरी सानदार रूपमा सम्पन्न गरेर आजको वस्तुवादी विचार, दर्शन, निती, नेतृत्व र कार्यक्रमको विकास गर्दै अगाडी बढाउन आवश्यक छ ।

हाम्रो माक्र्सवादी दर्शन द्वन्दात्मक तथा एतिहासिक भौतिकवादी दर्शनले सदैव एकता-संघर्ष- सहि र बैज्ञानिक रुपान्तरणमा विश्वास गर्दछ । क्रान्तिकारीहरु बिचमा एकता मात्र नभएर आजको युग अनुसार आफुलाई रुपान्तरित र विकसित गर्दै जानू पर्दछ। अन्त्यमा हामी क्रान्तिकारीहरु जगतको व्याख्या गर्न मात्र पार्टीको जिम्मेवारीमा रहेका होइनौं, यसलाई बदल्नका निम्ति कम्युनिस्ट सदस्य भएका हौं। हामी इतिहासबाट वर्तमानमा दास भएर बाँच्ने होइन कि इतिहासलाई शिक्षाको रुपमा ग्रहण गर्दै आजको युगलाई बुझ्ने र बदल्ने संकल्प लिँदै अगाडी बढनु पर्ने आवश्यक हामी सामु रहेको छ।

लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य साथै कास्की जिल्ला अध्यक्ष हुनुहुन्छ ।