चितवनमा पहिरोले २ वटा यात्रुबस बगायो : खोजी गर्दै प्रहरी

काठमाडौं, चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।​

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौं । पहिरो पन्छाउँदै खोजी कार्य जारी छ ।’ विरगन्जबाट काठमाडौं आउँदै गरेको विङ्गर बगाएको डिएसपी रिजालले बताए। त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ।

त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ। उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ। उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्। पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ।