प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसदको फेस गर्ने निर्णय भएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । गणित शो गर्न जाने । संसद फेस गरेर विश्वासको मत लिएर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । पार्टीको तर्फबाट एकमतले विश्वासको मतको सामना गर्ने नै छ । विभिन्न पक्षसँग छलफल गर्ने कुरा भएको छ, ‘उनले भने, ‘रास्वपा कांग्रेस, एमालेलगायत अन्य दलसँग पनि कुराकानी गरेर अगाडि बढ्ने भएको कुरा भएको छ ।’

एकातिर एउटा सहमति गर्ने, अर्कोतिर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर भन्नु सरासर षडयन्त्र भएको पौडेलले बताए । उनले भने, ‘एकातिर एउटा सहमति गर्ने अर्कोतिर दुई पार्टीले सहमति गरेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाउने भन्न मिल्छ ? यो षडयन्त्र हो । यसको प्रतिवादमा उत्रिन्छौं ।’

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी हुने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले सहमत भएका छन् । दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने छन् । एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ । एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ ।