एसईई नतिजा सार्वजनिक, दुई लाख ४२ हजारको एनजी

भक्तपुर । २०८० सालको कक्षा १० को अन्तिम परीक्षा  (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी* आएको छ । यो ५२.१४ प्रतिशत हो  । अर्थात् उक्त संख्याका विद्यार्थी नन् ग्रेडेड भएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् ।

एक सय ८६ जनाले ४ जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

यसपालि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो । २०७२ देखि १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धी ग्रेडिङ प्रणालीबाट हुन थालेको हो । 

कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी हुनेछ । कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् । अघिल्लो वर्ष नै एनजी प्रणाली लागू गर्न खोजिए पनि तयारी नपुगेको भन्दै अन्तिममा रोकिएको थियो । कक्षा १२ मा यही प्रणाली लागू भएको दुई वर्ष भइसक्यो । यसपालि प्रयोगात्मकको नम्बर र सैद्धान्तिक फरक फरक रुपमा ग्रेडसिटमा देखाईंदैछ । विगतमा प्रयोगात्मकमा २५ अंक विद्यालयले दिएको छ र विद्यार्थीले लेखेर ५ अंक मात्रै ल्यायो भने पनि दुबै जोडिएर एउटै जीपीई हुन्थ्यो । र, विषयगत ग्रेड निर्धारण हुन्थ्यो । यसपालि दुबै फरक हुने गरी नतिजा सार्वजनिक गरिएको हो । 

परीक्षा बोर्डको बुधबार बसेको बैठकले प्राविधिक परीक्षण सकेर बिहीबार विहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षामा  ४ लाख  ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएका थिए । 

परीक्षा बोर्डको वेभसाईट http://www.neb.gov.np  तथा नेपाल टेलिकमको वेभसाईट https://see.ntc.net.np बाट विद्यार्थीले नतिजा थाहा पाउन सक्ने छन् । बोर्डले विभिन्न निजी कम्पनीहरुलाई पनि नतिजा प्रकाशनको अनुमति दिएको छ ।