अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन् ।

उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको जिकिर गरे ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।