लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा

काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ ।

ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।

१५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले १२, रचिन रवीन्द्र र जेम्श निसमले १०/१०, ट्रेन्ट बोल्टले ७ तथा डेभोन कोन्वेले ५ रन बनाएर आउट भए ।

मिचेल स्यान्टनर २१ रनमा अविजित रहे । उनले अन्तिम ओभरको सुरुका दुई बलमा छक्का प्रहार गरी जीतको आशा जगाए पनि सम्भव भएन ।

वेष्टइन्डिजका अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसैन र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको थियो ।

खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए ।

अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३,  ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको भने यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो ।

वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।

समूह सीबाट सुपर-८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।

यो समूहमा दुई खेलबाट ४ अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट २ अंक जोडेको युगान्डा तेस्रो स्थानमा र दुई/दुई खेल खेलर अंक जोड्न नसकेका पपुवा न्यूगिनी र न्यूजिल्याण्ड क्रमश: चौथो र पाँचौ स्थानमा रहेका छन् ।