आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस

मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ । 

पक्राउ परेका अधिकांश वैज्ञानिकहरू बुढा छन् । यीमध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ । सन् २०१५ यता रुसमा १२ जना भौतिकशास्त्री पक्राउ परेका छन् । यी सबै वैज्ञानिक कुनै न कुनै रुपमा हाइपरसोनिक प्रविधि वा यसमाथि काम गरिरहेका संस्थासँग आबद्ध थिए । यी सबैमाथि राजद्रोहको आरोप लगाइएको छ । रुसको गोप्य दस्ताबे अर्को देशमा पठाएको आरोप यी सबैमाथि छ । 

रुसमा राजद्रोहको मुद्दा कठोर हुने भएकोले पक्राउ परेकाहरूलाई ठ्याक्कै के के आरोप लागेको छ भन्ने स्पष्ट हुन्न । पक्राउ परेकाहरूमाथि गम्भीर आरोप लागेको मात्रै बताइएको छ । स्पेसल सर्भिसेजसँग जोडिएको मुद्दा भएकोले यसबारे कसैले पनि मुख खोल्दैनन् । पक्राउ परेको वैज्ञानिकका घरपरिवारका सदस्यलाई यसबारेमा बोल्न निषेध गरिएको बताइएको छ ।

हालै रुसले युक्रेनी युद्धमा किन्झल र जिरकन क्रुज मिसाइल गरी दुई खाले हाइपरसोनिक मिसाइल प्रयोग गरेको दाबी गरेको थियो । उता, युक्रेनले भने केही किन्झल मिसाइल खसालेको दाबी गरेको थियो । रुसले हाइपरसोनिक प्रविधिको विकास गर्दै जाँदा वैज्ञानिकहरू पक्राउ पर्ने क्रम भने जारी रहेको बताइएको छ ।

अनुसन्धानका लागि वैज्ञानिकहरू जेल जानु परिरहेको छ ?

रुसले गएको वर्ष ६८ वर्षीय भ्लादिस्लाभ गल्किनलाई पक्राउ गरेको  थियो । दक्षिण रुसको टम्स्कस्थित उनको घरमा सन् २०२३ को अप्रिलमा छापा पनि मारिएको थियो । गल्किनलाई समातेलगत्तै सोही दिन अर्का वैज्ञानिक वालेरी ज्वेगिन्त्सेवलाई पनि अदालतमा पेस गरिएको थियो । गल्किन र ज्वेगिन्त्सेवले मिलेर कयौँ पेपर प्रकाशित गरेका थिए ।

इरानको जर्नलमा सन् २०२१ मा प्रकाशित एक पेपरका कारण ज्वेगिन्त्सेव पक्राउ परेको हुन सक्ने रुसको सरकारी न्युज एजेन्सी तासले स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ । जर्नलले एउटा लेख प्रकाशित गरेको थियो जसमा उच्च गतिको विमानले हावासँग कसरी व्यवहार गर्छ भनेर वर्णन गरिएको थियो । यो लेखमा गल्किन र ज्वेगिन्त्सेव दुवैको नाम उल्लेख गरिएको छ ।

सन् २०२२ को गर्मीमा एफएसबीले एरोडायनामिक्स विषयमा काम गर्ने एकै संस्थानका दुई सहकर्मीलाई गिरफ्तार गर्‍यो । पक्राउ गरिएका वैज्ञानिकहरूमा संस्थानका निर्देशक ज्वेगिन्त्सेव र प्रयोगशालाका पूर्व प्रमुख पनि थिए । इन्ष्टिच्युट अफ थ्योरेटिकल एण्ड अप्लाईड मेकानिक्स (आईटीएएम)का कर्मचारीले पक्राउ परेका आफ्ना तीन सहकर्मीको समर्थनमा खुला पत्र लेखेका थिए । सो पत्रलाई अहिले संस्थानको वेबसाइटबाट हटाइएको छ । उनीहरू ‘उज्ज्वल वैज्ञानिक नतिजा’का लागि परिचित रहेको र आफ्नो देशको हितप्रति ‘सधैँ वफादार रहेको’ पत्रमा लेखिएको थियो ।

‘उनले सार्वजनिक रूपमा साझा गरेको कामलाई प्रतिबन्धित जानकारीको लागि आईटीएमको विशेषज्ञ आयोगले धेरै पटक जाँच गयौँ तर आयोगले केहि पनि फेला पारेन ।’ पत्रमा भनिएको छ । हाइपरसोनिक्स एउटा यस्तो विषय बनेको लागि सरकार अब मानिसहरूलाई जेलमा हाल्न बाध्य भएको  रुसी मानव अधिकार र कानुनी सङ्गठन फर्स्ट डिभिजनका वकिल येभगेनी स्मिर्नाेभ भन्छन् । सन् २०२१ मा प्राग जानु अघि स्मिर्नाेभले राजद्रोहको अभियोगमा समातिएका वैज्ञानिक र अन्यको अदालतमा बचाउ गरेका थिए । यस कदमको नतिजाबाट डराएर उनले रुस छोडेका थिए । 

पक्राउ परेका वैज्ञानिकहरूको रक्षा क्षेत्रसँग कुनै सरोकार नभएको तर उनीहरू हाइपरसोनिक गति वा टब्र्युलेन्सको प्रभावले धातुहरू कसरी फुट्छन् भन्ने जस्ता प्रश्नहरूमाथि अध्ययन गरिरहेको उनी भन्छन् । ‘यो रकेट बनाउनेबारे थिएन । बरु भौतिक प्रक्रियाहरूको अध्ययनबारे थियो ।’स्मिर्नोभले भनेका छन् । यो अध्ययनलाई हतियार निर्माताहरूले थप प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

रुसमा वैज्ञानिकहरूको गिरफ्तारी कहिले सुरु भयो?

वैज्ञानिकहरू पक्राउ पर्ने क्रम केही वर्ष अघि सुरु भएको  थियो । यो क्रम भ्लादिमीर लाप्यागिनबाट सुरु भएको थियो । उनी अहिले ८३ वर्षको भए । उनलाई सन् २०१६ मा जेल हालिएको थियो । तर चार वर्षपछि उनी रिहा भएका थिए । उनले रुसी अन्तरिक्ष एजेन्सीको मुख्य अनुसन्धान संस्थान मेसिन बिल्डिङको केन्द्रीय अनुसन्धान संस्थानमा ४६ वर्ष काम गरेका  थिए । ल्यापिगिनमाथि एरोडायनामिक्स गणनाका लागि डिजाइन गरिएको सफ्टवेयर प्याकेज चिनियाँ सम्पर्कमा पठाएको अभियोग लगाइएको थियो । 

आफूले संस्थानको तर्फबाट पूरै प्याकेज बेच्नेबारे डेमो संस्करण पठाएको उनको भनाई थियो । ल्यापिगिन भन्छन्, ‘आफूले शेयर गरेको संस्करणमा कुनै गोप्य जानकारी थिएन । त्यहाँ मात्र एउटा उदाहरण थियो जुन खुला प्रकाशनहरूमा धेरै पटक बताइसकेको थियो ।’ हाहइपरसोनिक सम्बन्धित मुद्दामा पक्राउ परेका सबै वैज्ञानिकहरूको हतियार बनाउनसँग कुनै सरोकार नभएको उनको भनाइ छ ।

पक्राउ परेका अर्का वैज्ञानिक दिमित्री कोलकर हुन् । उनी साइबेरियाको इन्स्टिच्युट अफ लेजर फिजिक्सका विशेषज्ञ थिए । उनलाई सन् २०२२ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनी प्यान्क्रियाटिक क्यान्सरका कारण अस्पतालमा भर्ना भएका थिए । ‘उनी विरुद्धको आरोप उसले चीनमा दिएको बयानमा आधारित थियो, तर सामग्री एफएसबीद्वारा अनुमोदित थियो र एक एजेन्टले पनि उनीसँगै यात्रा गरेको थिया ।’ उनका परिवारका सदस्यहरूले भनेका छन् । पक्राउ परेको दुई दिनपछि ५४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

वैज्ञानिकहरू रुसमा अनुसन्धान गर्न डराइरहेका छन् ?

‘प्रणाली भित्र छुट्टै द्वन्द्व छ ।’ पक्राउ परेका वैज्ञानिकका एक सहकर्मीले नाम न छाप्ने सर्तमा भनेका छन् । ‘वैज्ञानिकहरूले अझै पनि आफ्ना पेपर अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गर्न र विदेशी सहकर्मीहरूसँग सहकार्य गर्न चाहन्छन् । उता, एफएसबी भने विदेशी वैज्ञानिकहरूलाई सम्पर्क गर्नु र विदेशी पत्रिकाहरूको लागि लेख्नु भनेको देशको विश्वासघात हो भनने सोच्छ ।’ उनको भनाइ छ । आईटीएएमका वैज्ञानिकहरूलाई पनि त्यस्तै महसुस भइरहेको छ । ‘आफ्नो कामलाई कसरी जारी राख्ने भन्ने हामीले बुझिरहेका छैनौँ ।’ उनले पत्रमा लेखेका छन् । जे कुराले आज आफूहरूले पुरस्कार पाइरहेको भोली सोही कुराका लागि फौजदारी मुद्दा लाग्ने भय उनको छ ।

वैज्ञानिकहरू अनुसन्धानका केही क्षेत्रमा काम गर्न डराइरहेको अनि अरू प्रतिभाशाली युवा कर्मचारीले विज्ञान छोडिरहेको उनको भनाइ छ । यो पत्र समर्थनको एउटा उदाहरण थियो । पक्राउ परेका अन्य वैज्ञानिकका संस्थाले कुनै प्रतिक्रिया दिएको छैन । अन्य मामिलाहरू पनि अन्तर्राष्ट्रिय सहयोगसँग सम्बन्धित रहेको विश्वास गरिएको छ । 

पक्राउ परेका अन्य दुई वैज्ञानिक हेक्साफ्ली (हाइपरसोनिक नागरिक विमान विकास गर्ने एक यूरोपेली परियोजना)सँग सम्बन्धित थियो । यो परियोजना अहिले सकिसकेको छ । यो परियोजना सन् २०१२ मा युरोपेली अन्तरिक्ष एजेन्सीको नेतृत्वमा सुरु भएको थियो । यसमा संलग्न रुसी र युरोपेली पक्षबीच एउटा सहयोग सम्झौता भएको र यसमा सबै प्राविधिक योगदान र आदानप्रदानहरूमा पहिला नै सहमति भएको थियो ।

गएको वर्ष दुवै वैज्ञानिकहरूलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । तर रुसको सर्वोच्च अदालतले दुईमध्ये एक जनामाथि फेरि मुद्दा चलाउने आदेश दिएको थियो । पक्राउ परेका अन्य वैज्ञानिक भने एरोडायनामिक्सको अध्ययनसँग सम्बन्धित रहेको बताइएको छ । यसमा युरोपेली सङ्घ योजनाले लगानी गरेको थियो । यो अध्ययन बेल्जियमको भोन कर्मन इन्स्टिच्युट अफ फ्लुइड डाइनामिक्सले सञ्चालन गरेको थियो ।

 विक्टर कुड्रियाभत्सेभकी विधवा पतिन ओल्गाका अनुसार एफएसबी अन्वेषकहरू अनुसन्धानमा वारहेड जस्तो देखिने गोलाकार शंकुको आकारबारे चिन्तित थिए । यो अध्ययन गर्ने वैज्ञानिक मध्ये एक भिक्टरले यसलाई भोन कर्मन इन्स्टिच्युटमा पठाएका थिए । ‘सन् २०११–१३ सम्म चलेको यस कार्यक्रमबाट सैन्य अनुसन्धानलाई बाहिर राखिएको थियो ।’ संस्थानको भनाइ छ । कुद्रियावत्सेभको टोलीले गोप्य जानकारी शेयर गरेको कुनै सङ्केत नमिलेको बताइएको थियो ।

वैज्ञानिक पक्राउ पर्नुको कारण अरू नै केही छ कि ?

सङ्गठन रुसमा प्रतिबन्ध भएपछि सर्गेई डेभिडिस लिथुआनियामा सरेको थिए । वैज्ञानिकहरू पक्राउ पर्नुका अरू कारण पनि हुन सक्ने उनको धारणा छ । यसमा राज्य अनुबन्धको लागि प्रतिस्पर्धा वा हाइपरसोनिक टेक्नोलोजीमा संलग्न वैज्ञानिकहरूसँग रुसको असन्तुष्टि समावेश हुन सक्छ । संदिग्धहरूले आफ्नो अपराध स्वीकार गरे र अरूलाई संलग्न गराए भने एफएसबीले उनीहरूलाई बचाउने प्रयास गर्ने स्मिर्नाेभ भन्छन् ।

कुद्रियात्सेवलाई अपराध स्वीकार गर्न र अर्को वैज्ञानिकलाई फसाउन प्रस्ताव गरिएको उनकी विधवा ओल्गाले भनेकी छिन् । उनले त्यसो गर्न मानेनन् । यस मामिलामा सुनवाइ हुनु अघि नै फोक्सोको क्यान्सरका कारण उनको मृत्यु भयो ।

एफएसबीले सैन्य प्रविधिको गोपनीयता सुनिश्चित गर्नुपर्ने एफएसबीका सेवानिवृत्त जनरल अलेक्जेंडर मिखाइलोभ भन्छन् । आईटीएएमका तीन जना वैज्ञानिक मध्ये एक अनातोली मास्लोभलाई १४ वर्षको  जेल सजाय दिइएको छ । यस्तो खालको गम्भीर सजाय दिन पर्याप्त आधार हुनुपर्ने मिखाइलोभको भनाइ छ । अहिले आएर देशद्रोहका मुद्दाहरू बढ्नुको कारण सन् १९९० को दशकमा स्वतन्त्रता र प्रजातन्त्रको विस्तारको परिणाम भएको उनको भनाइ छ ।

पक्राउ परेका अन्य केही वैज्ञानिक

आईटीएएमका ५७ वर्षीय निर्देशक अलेक्जेन्डर शिप्ल्युकलाई २०२२ मा गिरफ्तार गरिएको थियो । उनी यस मुद्दाको फैसला कुरिरहेका छन् । हाइपरसोनिक प्रणालीका लागि सेन्ट पिटर्सबर्ग वैज्ञानिक अनुसन्धान उद्यमका पूर्व निर्देशक अलेक्जेन्डर कुरानोभलाई सन् २०२१ मा गिरफ्तार गरिएको थियो । उनलाई सन् २०२४ को अप्रिलमा सात वर्षको जेल सजाय सुनाइएको थियो । भ्लादिमिर कुद्रियाभत्सेभका सहयोगी रोमन कोभालेभलाई सने् २०२० मा सात वर्षको जेल सजाय सुनाइयो । सन् २०२२ मै उनको मृत्यु भइसकेको छ ।