ओलीलाई अर्थमन्त्रीको जवाफ – ‘बजेट माओवादीतिर नभएर जनतातिर ढल्केको छ’

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट नेकपा माओवादी केन्द्रतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।

 

बुधवार संसद भवनबाहिर सञ्चारकर्मीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बजेट माओवादीतिर ढल्केको’ भनाइले कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्। संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए। 

अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताए। उनले माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आए पनि यथार्थमा त्यस्तो नभएको बताए। 

‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन‚ माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन्। आगामी आवको बजेट जनतातिर ढल्केको छ‚’ उनले भने, ‘हरेक ३ वर्षमा कर्मचारीहरुको तलब वृद्धि हुन्छ‚ त्यो कानूनी व्यवस्था नै छ। मजदुरहरुको २ वर्षमा तलब निर्धारण हुन्छ त्यो भइसकेको छ।’

उनले आगामी आवको बजेट पार्टी र सरकारभन्दा पनि जनतातिर ढल्केको दाबी गरे। उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दावी गरे। 

उनले हरेक ३ वर्षमा कर्मचारीहरुको तलब वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने बताए। उनले मजदुरहरुको तलब निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको बताए।

उनले सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको बताए। उनले सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रुपमा परिणाम निकाल्ने प्रतिबद्धता जनाए।