छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२००१ क ५१४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ बस्ने ५२ वर्षीय काले सुनारको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडास्थित सडकमा मे.१ ख ३२५१ नम्बरको बसले प्र.१-०१-०१४ प ८७८२ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० बस्ने ५२ वर्षीय नेत्र प्रसाद परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मे.११ प २०२८ नम्बरको मोटरसाइकल र प्र.१-०१-०१४ प ८७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सडकमा लडेका नेत्र प्रसादलाई उक्त बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मे.११ प २०२८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

डडेलधुरा, गन्यापधुरा गाउँपालिका देउपाल सामुदायिक वनस्थित सडकमा बागमती प्रदेश ०१ ००४ क २२५३ नम्बको टिपर सडकबाट करिब ५ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सहचालक अमरगढी नगरपालिका-१ बण्ड बस्ने २२ वर्षीय केशव ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, कंचनरूप नगरपालिका-३ सुवाटोलस्थित सडकमा स.१ त ६२९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २२ जनामध्ये २ जनाको सोही अस्पतालमा, १२ जनाको गोल्डेन अस्पताल विराटनगर मोरङमा र ८ जनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।