विवाहबारे के भन्छिन् साम्राज्ञी ?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ ।

‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर गृहस्थी भन्यो तीन–चार वर्ष जान्छ’, उनले भनिन् ‘विवाहपछि काम पनि गर्न पाइँदैन ।’ हाल २८ मा रनिङ शाहले केही वर्ष मज्जाले काम गर्न चाहेको सुनाइन् ।

शाह केही अगाडि ‘एग फ्रिज’ गर्ने कुरोले पनि चर्चामा छाएकी थिइन् । उनको अहिले पनि ‘एग फ्रिज’ गर्ने सोच छ । फिल्म ‘रुमानी रंग’ अभिनय तरखरमा रहेकी उनी यो फिल्मपछि ‘एग फ्रिज’ गर्ने बताउँछिन् ।

साम्राज्ञी अभिनीत फिल्म ‘लन्डन टु पेरिस’ आगामी २५ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उनी अहिले यही फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् ।

पछिल्लो समय आएका उनका धेरै फिल्म असफल भए । त्यसैले यो फिल्म हिट बनाउनुपर्ने उनलाई दबाब पनि छ । सोही अनुसार दौडधुप पनि चलिरहेको उनी सुनाउँछिन् ।

‘लन्डन टु पेरिस’ लभस्टोरी फिल्म हो । फिल्मले अहिलेको आधुनिक पुस्ताको प्रेम र रोमान्स भन्ने उनी बताउँछिन् । यो फिल्म उनले दुई वर्षअघि नै साइन गरेकी हुन् । फिल्मको विषयवस्तु मन परेको कारण फिल्म अभिनय गरेको बताइन् ।

फिल्ममा साम्राज्ञीको अलावा निश्चल खड्का, कवीर खड्का गरिमा शर्मा, रुस्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको अभिनय छ ।

घनश्याम लामिछाने निर्देशित फिल्मका आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।