वन्यजन्तुका लागि असुरक्षित काँक्रेविहार, चोरी शिकार र कुकुर आतंक चुनौती
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संरक्षित वनको रुपमा रहेको काँक्रेविहार वन्यजन्तुको लागि निक्कै असुरक्षित बन्दै गएको छ । तारबार नहुँदा चोरीसिकारीले असुरक्षित बन्दै गएको हो । पछिल्लो समय काँक्रेबिहार क्षेत्रमा कुकुर आतंक बढेको स्थानीय बासिन्दा बताउँछन् । वन्यजन्तुहरु बाहिरसमेत आउने गरेका छन् । यसले सुरक्षामा थप चुनौती देखिएको छ स्थानीय कल बहादुरले भने सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको छ ।
एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ। यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ। चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन्। स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ। जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।
वरिपरि गाउँ र बीचमा जंगल छ । जंगलको वरिपरी पर्खाल तारबार गरिएको छैन । तारबार नभएका कारण पनि चरन चर्न, पानी खान जरायो, मृग, बँदेल, घोरल र अन्य जंगली जनावरहरु सिधै गाउँमा आउने गर्छन् । त्यस कारण पनि वन क्षेत्रमा चोरी सिकार बढ्दै गएको स्थानीय टक्क बहादुर घर्तिले बताए । घर्तिका अनुसार काँक्रेबिहारमा चोरीसिकारीका कारण मृग, चरिबाघ, जरायो, रतुवा, बँदेल, कालिज,बन कुखुरा, घोरललगायत दजनौं पशुपंक्षी लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।
उनले भने, संरक्षित क्षेत्रमा पर्खाल, तारबार नभएका कारण बस्ती र जंगल आसपास चोरी सिकारी नियन्त्रण गर्नै समस्या भएको छ ।’ बन्यजन्तुको सुरक्षाका लागि काँक्रेविहारको वरिपरि पर्खाल लगाउन आवश्यक रहेको उनले बताए ।
काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुनसकेका छैनन्। डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्वार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ। कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ।
कुकुर आतंक
पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ। काँक्रेविहार वन क्षेत्रमा भुस्या कुकुरको आतंक बढ्दो छ । काँक्रेबिहारको प्रवेशद्धारमै वनको कार्यालय छ अस्थाई प्रहरी बिट पनि छ । तर चोरीसिकारीमा संलग्नहरु पक्राउ परेको रेकर्ड छैन । दिनहुँ कुकुरले मृग लखेटिरहन्छन तर सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेको छ । अझ त नजिकै रहेको जिल्ला वन कार्यालय सुर्खेतलाई त्यसको लेखाजोखा छैन । ‘खडेरीको समयमा जरायोहरु आहारका लागि जंगलबाट बाहिर निस्किँदा भुस्या कुकुरले मौका छोप्ने गरेको स्थानियको भनाई छ ।
तारबारको काम अलपत्र
बढ्दो चोरी सिकारीकै कारणले काँक्रेबिहारको वरिपरि पर्खाल हाल्न काम अलपत्र परेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट गत चालु आर्थिक बर्षमा बहुबर्षीय योजनाअन्तर्गत २१ करोडको लागतमा काँक्रेविहार वरिपरि तारबार गर्ने गरी टेण्डर भएपनि अगाढि बढन भने नसकेको स्थानीयको भनाइ छ ।