अन्ततः कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

सुर्खेत । एमालेसंगको सत्ता समिकरणको लामो रस्साकस्सीपछि अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो ।

तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन् । माओवादी प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्ल भन्छन्, ‘सदनलाई सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुन्छ ।’प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । यो बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी थियो । अब उनले राजीनामा दिने तयारी गरेका छन् ।