‘काँग्रेस दुधले नुहाएको पार्टी होइन’ : गृहमन्त्री रवि

काठमाडौँ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे । उनले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए ।

गृहमन्त्री लामिछानेले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिए । उनले काँग्रेसलाई ४ वर्ष नै संसद अवरुद्ध गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने समेत बताए ।

‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ?,’ उनले भने, ‘अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ । संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो । माग्ने कुरा आफ्नो ठाउँमा छ । कुन ढंगले जान्छ हेरौँ । विवाद हुनु र गराइनु फरक छ । विवादबाट मुक्त कहिल्यै हुँदैन । हामी काम गर्न अघि बढेका छौँ । कामको संकेत देखिरहनुभएको छ ।’

कांग्रेसले आज आएर नैतिकता कुरा गर्न नसुहाउने समेत उनले बताए । गृहमन्त्रीले भने, ‘जुन ढंगले संसद अवरोध भएको छ । एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली काँग्रेस दुधले नुहाएको पार्टी हो की होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । काँग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’