कालिकोटको नरहरिनाथ गाउँपालिकामा भातमै २ करोड ५० लाख खर्च

कागजात मिलाउन जम्वाे टाेली काठमाडौंमा

सुर्खेत,कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक वर्षमा दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को दुई करोड ५० लाखको भात र खाजामा खर्च भएको हो ।

महालेखा परीक्षकको प्राराम्भीक प्रतिवेदन २०७९/०८० अनुसार एक वर्षको अवधिमा कर्मचारी र जनप्रतिनीधिहरुले दुुई करोड पचास लाखको भात र खाजा खाएका हुन् । महालेखा परीक्षकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न गाउँपालिकामा पठाएको फाइल प्रतिवेदनमा जनप्रतिनीधि र कर्मचारीले दुई करोड ५० लाखको भात खाएको उल्लेख गरिएको छ ।

यद्यपी, महालेखाले आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन सार्वजनिक गरेको छैन् । महालेखाले प्रत्येक वर्षको चैत्रमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । गाउँपालिकाको सबै शाखा र वडा कार्यालयको खाना तथा खाजा खर्चमा दुई करोड ५० लाख खर्च हुनु स्वाभाविक भएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए ।

महालेखाको प्रतिवेदन अनुसार ‘बिबिध खर्चःस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि औचित्यताको आधार बिबिध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस स्थानीय तहले यो वर्ष खाना खाजा लगायतका बिबिधतर्फ मात्र २ करोड ५० लाख खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिन्छ र त्यस प्रकारको खर्च बिभिन्न वडा तथा पालिकाका बिषयगत शाखाका कार्यक्रम भएको पालिकाले जनाएको छ । यस्तो खर्चमा मितव्ययी कायम गर्नुपर्ने ऐनमा उल्लेख छ ।

त्यस्तै, बेरुजु ३ करोड ९२ लाख ४ हजार ६ सय ९४ रुपैया ७३ पैसा रहेको ठहर गरेको छ । बेरुजुमा असुल गर्नु पर्ने रकम १६ लाख ४८ हजार ८ सय ५०.७ रहेको छ । अनियमितता भएको रकम २ करोड ४४ लाख ८८ हजार २ सय ८३ रहेको छ । यस्तै प्रमाणपत्र र कागजात पेश नभएको रकम १ करोड ३० लाख ८७ हजार ४ सय ६१.०३ रहेको छ ।

यस्तै, पालिकाले महालेखालाई उपलब्ध गराएको बिवरण अनुसार संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा सबैभन्दा कम ४.०७ प्रतिशत र सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढि ४३.५३ प्रतिशत बजेट विनीयोजन गरि खर्च गरिएको छ । त्यसैगरी पुर्वाधार विकासमा पालिकाले २२.९६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कागजात मिलाउन जम्वाे टाेली काठमाडौंमा

महालेखा परीक्षकको कार्यालयले ३५ दिनकोे समयसिमा दिएर सम्परीक्षण गर्न समय दिएका कारणले अहिले लाखौ खर्च गरेर गाउँपालिकाका २२ जना कर्मचारी र जनप्रतिनीधि काठमाडौंमा पुगेका छन् । गाउँपालिकामा महालेखा परीक्षकको कार्यालय हरेक बिषयगत बजेटमा कैफियत देखाएका कारणले महालेखा परीक्षकको कार्यालयमा कागजात मिलाउन उनीहरु काठमाडौं गएका हुन् ।

गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, बिषयगत शाखाका प्रमुख र ९ जना वडा अध्यक्ष अहिले काठमाडौंमा रहेका छन् ।

नरहरीनाथ गाउँपालिकाको विकासका लागि योजना माग्न आफुहरु काठमाडौं गएको उनीहरुको भनाई छ । महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएपछि त्यसको हिसाब मिलाउन उनीहरु काठमाडौं गएको स्रोतको दाबी छ ।