म्याद सकिएको बियर खायो भने के हुन्छ ?

काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ ।

फ्रिजमा राखिएको छ भने अतिरिक्त २ देखि ३ वर्षसम्म राखेर पनि बियर खान सकिन्छ । बिर्को नखोलिएको बोतल, क्यानको बियरमा यो कुरा लागू हुन्छ । सिल खोलिएको बियरको हकमा भने लेबलमा एक्सपायरी डेट जे लेखिएको भए पनि एकदिन मात्रै खान मिल्छ । सिल खोलिएको बियर फ्रिजमै राख्दा पनि बिग्रिन्छ ।

८ प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको बियर अल्कोहलको मात्रा कम भएको बियरको तुलनामा अलि लामो समय टिक्छ । अनपाश्चराइज्ड बियरको आयु भने कम हुन्छ । यसलाई तीन महिनाभित्र पिएर भ्याइसक्नुपर्छ । पाश्चराइज्ड बियरको सिल बन्द छ भने एक वर्षसम्म पनि स्वाद ताजा रहन्छ ।

म्याद सकिएको बियरको स्वाद मिठो हुन्न, बासी हुन्छ अनि वासना पनि अनौठो हुन्छ । म्याद गुज्रिएको बियर विषाक्त नै चाँहि हुँदैन । हेल्थ लाइनका अनुसार म्याद गुज्रिएको बियर खाँदा बिरामी नै त भइँदैन । तर यसका कारण पेट भने खराब हुन सक्छ । कसै कसैलाई बान्ता हुने, वाकवाकी लाग्ने, पाचनसम्बन्धी समस्या आउन सक्छ । वाशिङटन पोष्टमा छापिएको एक समाचार अनुसार म्याद सकिएको बियरको स्वाद त्यति राम्रो हुन्न । बियर गिलासमा हाल्दा कार्बोनेशन वा सेतो फिँज आएन भने त्यो बियरको म्याद गुज्रिसकेको छ भन्ने बुझ्नुपर्छ ।