रागेचौर जनता माविको अध्यक्षमा रावत चयन

खलंगा, सल्यान कुमाख गाउँपालिका स्थित जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन भएका छन । शुक्रबार भएको अविभावक भेलाले बुद्धिजीवी तथा समाजसेवी भनेर आइतबार रावतलाई चुनेका हुन ।

जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले सोमबार उनलाई अध्यक्षमा चयन गरेको हो । समितिका अन्य सदस्यमा पहलनाथ योगी, लक्ष्मी बुढाथोकी, जानकी राना, मनिषा राना रहेका छन ।

वडाध्यक्ष केवल राना तथा सहायक प्रधानाध्यापक भिम वलीको उपस्थितिमा भएको बैठकले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । ९ महिनादेखि रिक्त भएको विद्यालय व्यवस्थापन समितिमा सहमतिको माध्यामबाट समिति चयन भएको छ ।

कुमाखको अग्रणी विद्यालय जनता मावि गत बर्ष चैत ४ गते देखि व्यवस्थापन समिति विहिन थियो । जेठ १२ गते पहिलो अविभावक भेलाबाट प्रकृया थालेपनि पूरा हुन नसकेको व्यवस्थापन समितिमा स्थानीयवासी तथा अविभावकले सहमतीमा नेतृत्व चुनेका हुन ।