अस्थायी आवास निर्माणमा डोल्पा मुड्केचुलाका जनप्रतिनिधि
जाजरकोट, अस्थायी आवास निर्माणमा डोल्पाको मुड्केचुला गाउँपालिकाको जनप्रतिनिधिको टिमले सक्रियता देखाएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्याएपछि छिमेकी पालिकाको रूपमा रहेको मुड्केचुला गाउँपालिकाले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएको हो ।
प्रदेश सभा ‘ख’ बाट निर्पवाचित सांसद वीर बहादुर शाहीको नेतृत्वमा मुड्केचला गाउँपालिकाको अध्यक्ष दत्त बहादुर शाहीसहित जनप्रतिनिधिको टिमले करिब ३५ भन्दा बढी अस्थायी आवास निर्माण गरेका छन् ।
अस्थायी टहरा निर्माण गर्दै मुड्केचुलाका अध्यक्ष दत्त बहादुर शाहीले छिमेकीको दुखमा चुप लागेर बाँधेर बस्न नसकिने बताए । उनले आफ्नो कर्तव्य पुुरा गर्न जनप्रतिनिधिको टिमसहित टहरा निर्माण गर्न पुगेको बताए ।
त्यस्तै जाजरकोट र रूकुम पश्चिममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको स्वयंसेवक टिमले पनि अस्थायी टहरा निर्माणमा सक्रियता देखिएका छन ।
अस्थायी आवास निर्माण गर्न तीन हजार बढी स्वयंसेवक परिचालन गरेर हालसम्म जिल्लाका ६ वटै पालिकामा तीन हजार एक सय ६८ अस्थायी आवास निर्माण गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । भने २५ सय बढि जाजरकोटमा निर्माण गरिएको बताइएको छ ।