केन्द्रको ठाडो निर्देशनपछि एमाले कर्णालीमा दुई गुटबीच द्वन्द्व

सुर्खेत, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पठाएको पत्रले कर्णाली प्रदेशको एमालेमा खैलाबैला मच्चिएको छ। असोजमा भएको प्रदेशको अधिवेशनबाट निर्वाचित उप-सचिव रमेश शाहीलाई बर्खास्त गरेर पराजित अखिल नेपाल महिला संघ कर्णाली प्रदेश अध्यक्ष पदमा खड्कालाई जिम्मेवारी दिन भन्दै केन्द्रबाट निर्देशन आएपछि खैलाबैला मच्चिएको हो।

कर्णाली एमालेको एउटा समूहले पदमा खड्कालाई समावेशिताको नाममा उप-सचिव बनाउनुपर्नेमा ठिक गरेको भन्दै पार्टी नेतृत्वको प्रशंशा गरेको छ भने अर्को टीमले हारेको व्यक्तिलाई पदमा ल्याइएको भन्दै नेतृत्वको आलोचना गरेको छ।

एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीलाई निर्देशन दिएपछि असन्तुष्टि चर्किएको हो।

प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षणको व्यवस्था एमालेले गरेको थिएन। महिला कोटा हुनुपर्ने दावीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरिएको जनाइएको छ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उप-सचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीको स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उप-सचिव पदमा बहाल गर्ने। रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने।’

यता, उप-सचिवबाट बर्खास्त गरिएका शाहीले भने निर्णय नै मनगढन्ते भएकोले आफूले नमान्ने बताएका छन्।  अधिवेशनमा निर्वाचित शाही यामलाल कँडेल र खड्का गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट उप-सचिव पदमा निर्वाचन लडेका थिए।