जाजरकोट भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।’ चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा यसअघि नै १३ जनाले ज्यान गुमाइसकेका छन् । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि पुगेका भूकम्पपीडित मंसिरको चिसोका कारण झन् समस्यामा परेका हुन् । सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार यसअघि जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाइसकेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ का ८० वर्षीया पद्मी ओली र ७० वर्षीय दत्ते कामीको मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर पुनले पुष्टि गरे । पद्मीको ५ मंसिर र दत्तेको ३० कात्तिकमा मृत्यु भए पनि ढिलो गरी घटना सार्वजनिक भएको थियो ।

वडाध्यक्ष पुनका अनुसार ज्यान गुमाउने दुवै दमका रोगी थिए । ‘न्यानोमा बस्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरू मंसिरको चिसोमा पालमुनि बस्नुपर्दा समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म दुईजनाको ज्यान गइसक्यो । वडामा धेरै व्यक्ति बिरामी छन् ।’

चिसोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।