कैलाश सिरोहियाका छोराको विवाहस्थलमा अवरोध पुर्याउने चेतावनी

काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आजदेखि दोस्रो चरणको आन्दोलन थालेको छ । कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा आजदेखि दोस्रो चरणको आन्दोलन गर्न लागिएको जानकारी दिइएको छ ।

सम्भव सिरोहिया र पुर्व मिस नेपाल श्रृंखला खतिवडा

आज दिउँसो ४ बजेदेखि एक घण्टा थापाथलीस्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिइने संघका अध्यक्ष जन्मदैव जैसीले बताए । त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समितिसँग आन्तरिक छलफल गरिने कार्यक्रम तय भएको छ ।

पर्सि ऐन कार्यान्वयनका लागि छलफल गर्ने, आगामी सोमबार थापाथलीमा धर्ना बस्ने, मंगलबार १२ गते कान्तिपुरलाई एक रुपैयाँ सहयोग अभियान सञ्चालन गर्ने, बुधबार पुनः धर्ना दिने र बिहीबार ऐन कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।

त्यसैगरी मंसिर १५ गते पनि धर्ना दिने कार्यक्रम राखिएको छ । मंसिर १६ गते सरोकारवालासँग छलफल गर्ने, मंसिर १७ गते सार्वजनिक स्थलमा अन्तरक्रिया तथा ऐन कार्यान्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने, मंसिर १८ गते धर्ना दिने, मंसिर १९ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने र मंसिर २० गतेदेखि नियमित रुपमा थापाथली स्थितमुख्यालयमा धर्ना थालिने उनले बताए । 

त्यो समसयसम्म पनि समस्या समाधान नभएमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा तथा कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको विवाहस्थलमा आन्दोलन गर्ने जैसीले चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि कैलाश दाइलाई सुझाव, २८ गतेअघि नै सल्टाऊ, नत्र ठूलै बेइज्जत हुन्छ । भोको पेटमा तपाईंले तड्पाएका कान्तिपुरका आन्दोलनकारीहरुले याक एण्ड यति होस् या हायात रिजेन्सी होस्, छोड्दैनन् है । ढुक्क हुनुस् ।’

मंसिर २८ गते सम्भव र मिस नेपाल–२०१८ श्रृंखला खतिवडाको विवाह हुँदैछ । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए । अमेरिकामा अध्ययन गर्न गएकी श्रृंखला र सम्भवका विभिन्न तस्बिर त्यतिबेलादेखि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कान्तिपुरका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले विवाहस्थलमै पुगेर आन्दोलनसँगै बबालको तयारी थालेका हुन् । कान्तिपुरले पछिल्लो समय मासिक तलबभत्ता र सेवासुविधाबापतको रकम नदिई धमाधम कर्मचारी निष्कासन गरिरहेको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संगठनले उक्त कार्यको विरोधमा निरन्तर आन्दोलन गरिरहेका छन् ।