प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।

असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ । मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।