श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने पक्राउ

काठमाडौं, गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा केही पत्ता लगाउन सकेन ।

करिब एक महिनापछि लालु आफैँ हराउँछन् । जसले घटना थप रहस्यमय हुन्छ । उनी भारत गएको प्रहरीले सूचना पाउँछ । निरन्तर पिछा गरिरहने क्रममा उनी गत ५ कात्तिकमा नेपाल आएको प्रहरीले पत्ता लगाउँछ । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ । सोधपुछ गर्दा उनले धेरै समय ढाँट्न सक्दैनन् । आफूले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको स्वीकार्छन् । 

बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोली उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ । जहाँ खन्दा गोपीको शव फेला पर्छ । पाँच फिट गहिरो खाल्डोमा पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि पुर्‍याउँछ । घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारीहरू बताउँछन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए । घटना लुकाउन शव बेपत्ता बनाउने उद्देश्यले त्यसरी गाडेका थिए । पछि डराएर भारत गए । नोयडास्थित एक होटेलमा एक महिना काम पनि गरे । पछि दसैँमा नेपाल आउँदा उनी पक्राउ परेका हुन् । 

सुरुमा उनले घटना लुकाउन खोजे पनि प्रहरी अनुसन्धानपछि वास्तविकता बताएका हुन् । घटनाको चार महिनापछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । बयानमा पनि उनले अपराध स्वीकार गरेको बौद्ध वृत्तका डिएसपी पाण्डेले बताए ।