किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?

विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

सांसद शाहीको तस्वीरको पोष्टर रुख रुखमा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ रु’ भन्दै उनलाई प्रश्न गरेका छन् ।

सांसद शाहीका छोराको नाममा रहेको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डीचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको छ । तर, कालोपत्रे गर्ने भनेर ठेक्का लिएको लामो समय बित्दा पनि कामअघि नबढेपछि स्थानीयले सांसद शाहीको तस्वीर रुख रुखमा टाँस गरेका हुन् ।

गत वर्षको असारमा पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तीको शिलान्यास गरेका थिए ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।

शाहीको तस्वीरसहितको पोष्टर यतिबेला सामाजिक सञ्जालहरुमा समेत भाइरल भएको छ ।

स्थानीयले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि ठेकेदार सांसद शाहीको फोटोसहित दबाबमूलक सन्देश लेखिएको पोस्टर रुखका टाँस्न थालेका हुन् ।

ठेकेदार कम्पनीहरुले सडकको ठेक्का लिने र विभिन्न बहानामा समयमा काम नगर्ने प्रवृत्तिबाट आजित बनेका स्थानीय स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएका हुन् ।

उता सांसद शाहीले भने आफ्नो तस्वीरलाई पोष्टर बनाएर टाँसिएको विषयमा आफूलाई थाहा नभएको प्रतिकृया दिईरहेका छन ।