आ-आफ्नै दृष्टिकोण

कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

एक दिन उनीहरू मन्दिरमै भएको समयमा जोडले हावाहुरी चल्यो । केही समयपछि मुसलधारे पानी पनि प¥यो । पानी रोकिएपछि उनीहरू कुटीतिर फर्किए । दिउँसोको हावाहुरी र मुसलधारे पानीका कारण उनीहरूको कुटीको आधा छानो उठाएको थियो । यो देख्दा कुटीमा पुग्ने पहिलो साधु भगवान्सित निकै रिसाए र भने– भगवान्  ! तँ जहिल्यै मेरो साथमा गलत गर्छस् । म हरेक साँझबिहान तेरो पूजा अर्चना गर्छु ।

तेरै नाम जपिरहन्छु । तैपनि, तैँले मेरो कुटीको छानो उडाएर मलाई उठिबास लगाइस् । गाउँमा कैयौँ चोर, डाँका, लुटेरा पनि छन् । तर, तिनको घरमा भने तैँले कुनै विनाश गरेको छैनस् । के तँलाई प्रेम, श्रद्धा र आदर गरेको फल यही हो ?

केहीबेरमा दोस्रो साधु पनि कुटीमा आइपुगे । उनले पनि आधा मात्र बाँकी रहेको कुटीको छानो देखे । त्यो देखेर उनी दंग परे । खुसीले नाच्न थाले । नाच्दानाच्दै उनले भगवान्लाई धन्यवाद दिए । उनले भने– भगवान्  ! तपाईं कति दयालु हुनुहुन्छ, तपाईं हामीलाई कति प्रेम गर्नुहुन्छ भन्ने आज पुष्टि भयो । त्यही प्रेमले गर्दा तपाईंले हाम्रो कुटीको आधा छानो जोगाइदिनुभयो । सायद तपाईं हाम्रो पूजाबाट खुसी हुनुभएको थियो । त्यसैले त आज हाम्रो कुटीको छानो आधा भए पनि जोगाएर हामीलाई रात काट्ने सुरक्षित ठाउँ दिनुभयो । आज मलाई तपाईंमाथि थप श्रद्धा र विश्वास बढ्यो । तपाईंको जय होस् भगवान् !मोटिभेट न्यूज