आरसिपीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला सवार गाडी दुर्घटना
काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (आरसिपि) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सवार गाडी दुर्घटना भएको छ ।
शुक्रवार काठमाडौंबाट बाँकेको कोहलपुर जाने क्रममा बास्तोलाले चलाएको स्कार्पियो र विपरीत दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा दाङको राप्ती गाउँपालिका- वडा नं. ५ का २९ वर्षीय मोटरसाइकल चालक बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्का प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको बास्तोला सवार स्कार्पियो संग विपरीत दिशातर्फ तिब्र गतिमा गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
उक्त दुर्घटनाका घाइते भएका चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याएको थियो। राति १० बजेपछि स्वास्थ्य चौकी पुर्याएलगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी केसीले जानकारी दिए।