सभामुखले शोक प्रस्ताव पढिरहे, माननीयका आँसु झरीरहे…

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनमा दुवै सभामा एक मिनेट मौनधारण गरिएको थियो ।

सदनले शोक प्रस्ताव पारित गरिरहँदा संसद बैठक शोकमग्न बनेको थियो । सभामुख देवराज घिमिरेले लिखित शोक प्रस्ताव वाचन गरिरहँदा सांसदहरु भावुक देखिए । पूर्वमन्त्रीसमेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी त आँशु खसालेर रोइरहेका थिए ।

अस्ति मंगलबार हृदयाघातबाट निधन भएका नेम्वाङको आज मध्यान्ह राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनमा शोक व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङ्ग प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्षसमेत हुनुहुन्छ । नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । शोक प्रस्ताव पारित गरेपछि दुबै सदनको बैठक स्थगित गरिएको छ । शोक प्रस्ताव पारित गरेपछि त्यो दिन बैठक नबस्ने संसदीय प्रचलन छ ।