डीएसपी ठगबहादुर विरुद्ध १७८ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ । बर्खास्तमा परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाख रुपैंयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीको कार्यालय प्रमुख हुँदा उनले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए । सो सूचनाका आधारमा केसीको निवासमा प्रहरीले खानतलासी गर्दा नगदसहित सुन भेटिएको थियो ।
केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल सुन १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले जिम्मा लिएका थिए । उनले सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस रिसवत लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
निज ठग बहादुर केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।