संसदवादी विद्यार्थी संगठनहरु प्रतिपक्षी आन्दोलनको चरित्रबाट च्युत भइसकेका छन् : मिलन राई

हामी निर्णायक संघर्ष गर्ने तयारी गरिरहेका छौँ

पछिल्लो समय विद्यार्थी राजनीति शैक्षिक मुद्धा र शैक्षिक सुधारमा केन्द्रित हुनु पर्नेमा दलगत राजनीतिक गतिविधिमा केन्द्रित हुँदै गएको भन्ने आलोचना हुन्छ । यत्री मात्र हैन् नेपालको शैक्षिक आन्दोलन कोमामा गएको र यसको औचित्य माथि नै प्रश्न उठिरहेको भन्ने निष्कर्ष निकालिन्छ ।

यस विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राई विद्यार्थी आन्दोलनको औचित्य नै समाप्त भएको भन्ने विषयसंग सहमत देखिदैनन् । यसै सन्दर्भमा नेपालको विद्यमान विद्यार्थी आन्दोलन, समस्या, संभावना लगायतका विभिध विषयमा केन्द्रित रहेर उहाँ संग गरिएको संक्षिप्त कुराकानी । प्रस्तुत छ, राई सँग गरिएको कुराकानीको सम्पादित अंश –

१. पछिल्लो समय तपाईले नेतृत्व गर्नुभएको  संगठनले के गरिरहेको छ ?

हाम्रो संगठन राष्ट्रियता, जनजिविका, जनतन्त्र र शैक्षिक विषयमा निरन्तर संघर्षरत छ । प्रतिपक्षी विद्यार्थी आन्दोलनको नेता संगठनको रुपमा स्थापित पनि छ। हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षाको सन्दर्भमा वर्तमानमा आम सुधार र दिर्घकालमा आमूल रुपान्तरण गर्नुपर्ने दृष्टिकोणमा स्पष्ट छ । हामीले पछिल्लो समयमा शिक्षा क्षेत्रमा विद्यमान कमीकमजोरी र खराबीमा आम सुधार गर्न शिक्षा मन्त्रालयमा ३१ बुदे मागपत्र बुझाएका छौँ । साथै देशैभरका स्थानीय निकायमा पनि स्थानिय मागहरुलाई समेत समेटेर मागपत्र बुझाइएको छ । मागहरूको सन्दर्भमा राज्यको कुनै पनि निकाय गम्भीर देखिएन । हामी चरणबद्द र निर्णायक संघर्ष घोषणा गर्ने तयारी गरिरहेका छौँ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको इतिहासमा टुटफुट विभाजनको श्रृङखलालाई तोड्दै जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा दुईवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बिच एकता भएको छ। दुईवटै पार्टीको दुईवटा विद्यार्थी संगठबिच पनि हामी एकता गर्ने प्रक्रियामा छौं। संगठनको एकता प्रक्रिया टुंगिए लगत्तै हामी चरणबद्ध संघर्षको सुरुवात गर्नेछौं । अब गरिने संघर्षलाई सम्झौताहिन र निर्णायक संघर्षको स्तरमा उठाउने छौँ । नयाँ परिवेशमा समस्याहरुको पहिचान र समाधानका लागि अध्ययन र अनुसन्धान पनि गरिरहेका छौँ ।

२. नेपालको विद्यार्थी आन्दोलन कोमामा गएको र यसको औचित्य नै समाप्त भएको भन्ने छ, के यो साचो हो ?

नेपालको विद्यार्थी आन्दोलनले पछिल्लो समयमा अपेक्षाकृत र आवश्यकता अनुसारको काम गर्न नसकेको चै सत्य नै हो ।तर विद्यार्थी आन्दोलनको औचित्य नै समाप्त भएको भन्ने विषयसंग सहमत हुन सकिदैन । राष्ट्रियता, जनतन्त्र, जनजिविका र शैक्षिक विषयमा पछिल्लो समयमा देखिएका समस्याहरुलाई हेर्दा विद्यार्थी आन्दोलनको आवश्यकता र औचित्य झन बढेर गएको छ भन्ने लाग्छ । एमसिसी जस्तो राष्ट्रघाति सम्झौताले नेपालको सार्वभौमिकता माथि संकट उत्पन्न गरेको छ । नेपालमा वैदेशिक हस्तक्षेप सुक्ष्म व्यवस्थापनको तहमा बढेको छ । बेरोजगारीको दर बढिरहेको छ, नेपालका व्यापार व्यवसाय टाट पल्टिएको छ । महङगीले आकाश छोएको छ । सानालाई ऐन र ठुलालाई चेनको स्थिति छ, भ्रष्टाचारले सिमा नाघेको छ ।

शिक्षा आम जनताको पहँचबाट टाढा हुदैछ, शिक्षामा चरम निजीकरण र व्यापारीकरण हुँदै माफियाकरणको तहमा पुगेको छ।  शिक्षाका नाममा प्रतिभा र पुजि पलाएन भइरहेको छ। उल्लेखित तमाम समस्याहरुलाई हेर्दा सशक्त विद्यार्थी आन्दोलनको आवश्यकता झन बढेर गएको छ । विद्यार्थी आन्दोलनको भूमिका कमजोर बन्दै गएको सत्य हो, तर विद्यार्थी आन्दोलनको आयु तोक्ने र औचित्य समाप्त भएको घोषणा गर्ने कार्य नियत सहितको  पुर्वाग्रहपुर्ण छ । यस्तो पुर्वाग्रहपूर्ण धारणा खासगरी तीन प्रकारका मानिसहरुले गर्ने गरेका छन् । पहिलो, शिक्षाका व्यापारी र माफिया। उनिहरु विद्यार्थी आन्दोलनले उनिहरुको स्वार्थमा कुनै अवरोध नगरोस् भन्ने चाहान्छन् ताकी अभिभावकलाई लुटेर अकुत सम्पत्ति कमाउन सकियोस भन्ने चाहान्छन्। दोस्रो, असक्षम पुरातनवादी र संकिर्ण सोच राख्ने राजनीतिककर्मी ।

उनिहरु राजनीतिमा सक्षम र क्रान्तिकारी पुस्ता नआओस भन्ने चाहान्छन् ताकि उनिहरुले लुटि खाएको सत्ता अरुले नखोसिदियोस भन्ने चाहान्छन् र नेता उत्पादन गर्ने विद्यार्थी आन्दोलन आवश्यक नभएको बकवास तर्क गर्छन् । तेस्रो पाखण्डी बुद्धिजीवी भनौदाहरु । जो वास्तविकता बुझ्ने भन्दापनि माहोलमा बहकिने गरेका छन्। के सत्य हो र के आवश्यक छ भन्दा पनि के भन्दा मन पराउछन् भनेर अभिव्यक्त गर्ने गर्दछन् । पछिल्लो समयको संसदीय घृणित राजनीतिको नकारात्मक प्रभावमा विद्यार्थी आन्दोलनलाई पनि त्यही आँखाले हेर्ने गरिएको छ । विद्यार्थी आन्दोलनमा रहेको गलत प्रवृत्ति र खराबीको निर्मम समीक्षा गर्दै, समयानुकूल परिमार्जन र अपडेट गर्दै विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक छ ।

३. विद्यार्थी संगठनहरु शैक्षिक मुद्धा र शैक्षिक सुधारमा केन्द्रित नभएर दलगत गतिविधिमा बढी संलग्न भए भन्ने छ नि ?

नेपालको विद्यार्थी आन्दोलनको चरित्र मुख्य राजनीतिक र सहायक शैक्षिक हुँदै आएको छ । यसो हुनु स्वभाविक नै छ। राजनीतिक सत्ताले शिक्षाको चरित्रलाई निर्धारित गर्ने हुँदा राजनीतिक गतिविधिमा विद्यार्थी संगठनहरु संलग्न हुनु स्वभाविक हुन्छ । विद्यार्थी भनेको देशको सचेत नागरिक पनि हो, तसर्थ देशको राजनीतिक विषयमा चासो राख्नु र आवश्यकता अनुसार भूमिका निर्वाह गर्नु उसको कर्तब्य पनि हो । शैक्षिक आन्दोलन राजनीतिक आन्दोलनकै एक भाग हो तसर्थ शिक्षामा सुधार या रुपान्तरणको विषय राजनीतिक आन्दोलन भन्दा भिन्न हुदैन ।

कतिपय पाखण्डी विद्वानले शैक्षिक आन्दोलनलाई राजनीतिक आन्दोलनबाट अलग गर्नुपर्ने तर्क गर्ने गरेको पाइन्छ । यसो गरिएमा विद्यार्थी आन्दोलन दृष्टिकोण विहिन बन्न पुग्दछ र अर्थवादमा फस्न पुग्दछ। दृष्टिकोण विहिन शैक्षिक आन्दोलन केबल रोमाञ्चकता हुन्छ जसले आन्दोलनलाई निश्कर्षमा पुर्‍याउन सक्दैन । यद्यपि प्रश्नले विद्यार्थी आन्दोलनमा प्रतिपक्षी चरित्रबाट च्युत भएर दलको नेताको चाकरी, चाप्लुसि गर्ने, लाभको पद लिने र गलत गर्दा पनि समर्थन गरेर काधमा बोक्ने प्रवृत्तिलाई इङ्गित गर्न खोजेको जस्तो लाग्छ । यस्ता प्रवृत्ति पनि विद्यार्थी आन्दोलन भित्र छ, जसले समग्र विद्यार्थी आन्दोलनलाई बदनाम गराइरहेको छ । यस्ता प्रवृत्तिका विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ ।

४. विद्यार्थी संगठनहरु राजनीतिक दलको भातृ संगठनको रुपमा हुनपर्ने आवस्यकता किन ?

मैले माथि पनि भनिसकेको छु राजनीतिक सत्ताको चरित्रले शिक्षाको चरित्रलाई निर्धारण गर्दछ । कुनैपनि मुलुकको शिक्षा प्रणाली त्यो मुलुकको राजनीतिक व्यवस्था कस्तो छ भन्ने कुराले निर्क्योल गर्दछ । जस्तो हाम्रो मुलकको राजनीतिक सत्ताको चरित्र दलाल पुजीवादी छ तसर्थ नेपालको शिक्षाको चरित्र पनि दलाल तगा निगम पुजीवादी नै रहेको छ । राजनीतिक दलहरु निश्चित विचार र दृष्टिकोणको आधारमा निर्माण भएका हुन्छन् । शैक्षिक आन्दोलन  दृष्टिकोण विहिन हुन सक्दैन। राजनीतिक दलका विचार र दृष्टिकोणले शैक्षिक आन्दोलनलाई मार्गदर्शन गर्दछ। शैक्षिक आन्दोलन राजनीतिक आन्दोलनकै एक अंश हो  तसर्थ विद्यार्थी संगठनहरु राजनीतिक दलका जनवर्गीय संगठनका रुपमा क्रियाशील छन् । युवा विद्यार्थी वर्तमानको साझेदार र भविष्यका कर्णधार हुन् । देशको सबैभन्दा सचेत नागरिक हुनुको कारणले पनि विचार र दृष्टिकोणका आधारमा विद्यार्थी राजनीतिक दललाई समर्थन गर्ने र संगठित हुन आवश्यक छ ।

५. त्यसो भए तपाईले नेतृत्व गरेको विद्यार्थी संगठन र नेपालका अन्य विद्यार्थी संगठन विचको फरक के छ नि ?

हाम्रो संगठन अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल धार हो, प्रतिपक्षी विद्यार्थी आन्दोलनको नेता संगठन हो । हाम्रो संगठन नेपालमा राजनीतिक क्रान्ति सकिएको छैन, शैक्षिक क्रान्तिका लागि राजनीतिक क्रान्तिमा अग्रभागिय मोर्चाको रुपमा भूमिका निर्वाह गर्नु आजको विद्यार्थी आन्दोलनको मुल दायित्व हो भन्ने दृष्टिकोणमा स्पष्ट छ । राष्ट्रियता, जनतन्त्र, जनजिविका र शैक्षिक विषयमा निरन्तर संघर्षरत छ । अन्य विद्यार्थी संगठनहरु खासगरी संसदवादी विद्यार्थी संगठनहरु प्रतिपक्षी आन्दोलनको चरित्रबाट च्युत भइसकेका छन् । मातृ पार्टी सत्तामा हुदा चुपचाप बस्ने र सत्ता बाहिर हुदा चर्को स्वर गर्ने अवसरवादी चरित्र देखाइरहेका छन् । राजनीतिक क्रान्ति सकिएको सकिएको, नसकिएकोमा अन्योलतामा छन् ।

दृष्टिकोण स्पष्ट नहुनुले विद्यार्थी नेताहरू मन्त्रीको स्वकीय सचिव बन्न, सचिवालयमा पर्न, नियुक्ति खान, ठेक्कापट्टा माग्न मन्त्रीको दैलो चाहारिरहेको र शक्ति र सत्ताको आडमा विचौलिया काममा व्यस्त भेटिन्छन् । दृष्टिकोण स्पष्ट नभएको कारणले सडकमा शिक्षा र स्वास्थ्यमा निजिकरणको विरोध गरिरहेका हुन्छन् तर सेटिङ्ग मिलाएर उनिहरुले नै स्वास्थ्य शिक्षाको क्षेत्रमा लगानी गरिरहेको भेटिन्छ । संसदवादी विद्यार्थी संगठनले विद्यार्थी संगठनलाई नेता बन्ने भर्याङ्ग र पैसा कमाउन दुरुपयोग गरिरहेका छन् । आन्दोलनमा सौदाबाजि उनिहरुको मुल चरित्र हो । संसवादी विद्यार्थी संगठनले सत्ता बाहिर हुदा आन्दोलन गर्ने अथवा आन्दोलनलाई कमजोर बनाउन आन्दोलनमा आएजस्तो गर्नाले जनता र विद्यार्थीमा क्रान्तिकारी विद्यार्थी आन्दोलन र संसदवादी विद्यार्थी संगठन उस्तै हुन कि भन्ने भ्रम पैदा हुन गएको छ । जनतामा पैदा भएको भ्रमलाई चिर्न र आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न हाम्रो संगठनले अझ मेहनत गर्न जरुरी छ ।

६. विद्यार्थी राजनीति पहिले र अहिलेमा कति फरक छ ?

विद्यार्थी आन्दोलन विगतमा गौरवमय थियोे । विद्यार्थी आन्दोलनको वर्तमान प्रश्न र आशंका सहितको छ । विद्यार्थी आन्दोलन विचार र दृष्टिकोणका आधारमा अलग स्वरुपमा भएपनि महत्त्वपूर्ण एजेन्डामा एकताबद्ध थियोे र कयौं महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियोे । विगतमा विद्यार्थी आन्दोलनको चरित्र प्रतिपक्षी थियोे, वर्तमानमा विद्यार्थी आन्दोलन प्रतिपक्षी र सत्तापक्षीयमा विभक्त भएको छ र महत्त्वपूर्ण एजेन्डामा समेत विद्यार्थी आन्दोलन एकताबद्द र सशक्त हुन सकेको छैन । विगतमा त्याग, समर्पणको भावना प्रवल थियोे भने वर्तमानमा स्वार्थ प्रेरित भावनाले विद्यार्थी एकतालाई कमजोर बनाएको छ, अविश्वास पैदा भएको छ । राजनीतिक आन्दोलनमा समेत प्रभावशाली भूमिका निर्वाह गरेको विद्यार्थी आन्दोलन यतिबेला गम्भीरतापूर्वक आफ्नो भूमिकाको समिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको छ ।

७. विद्यालय वा क्याम्पसमा पढ्न छाडेर नेताका पछि लाग्ने विद्यार्थी राजनीतिको गलत प्रवृत्तिले नै शिक्षाको गुणस्तर विगारेको हो पनि भन्छन् नि ?

पहिलो कुरा, नेपालको शिक्षा प्रणाली नै बदल्न आवश्यक छ । नेपालको वर्तमान शिक्षा परम्परागत, अवैज्ञानिक, पाण्डित्यपूर्ण, अव्यावहारिक छ । नेपालमा किताबी ज्ञान घोकेर राम्रो अंक प्राप्त गर्नु र धेरै पास हुनुलाई नै गुणस्तर मान्ने गरिएको छ, जुन गलत छ । गुणस्तरको प्रमाणपत्र परिक्षामा घोकेर प्राप्त गरेको अंकले निर्धारण गर्न सक्दैन । शिक्षाको गुणस्तर प्राप्त ज्ञानको प्रयोगसँग हुनुपर्दछ । शिक्षाको सम्बन्ध जीवनसँग हनुपर्दछ । शिक्षाले मानिसको जीवनलाई सरल र सहज बनाउनुपर्दछ । नेपालको शिक्षाले जीवन जिउने कला सिकाउदैन । दोस्रो कुरा, विद्यार्थी नेताको कारणले शिक्षाको गुणस्तर विग्रेको भन्ने आरोप नै पुर्वाग्रहपूर्ण छ, जुन सत्य होइन । विद्यार्थी नेताले क्याम्पस र कक्षामा शैक्षिक वातावरण निर्माण गर्न नै पहल गरेको पाउछु। विद्यार्थी नेताले नियमित क्याम्पस जाने र पढ्ने चै गर्नुपर्दछ । वास्तविक विद्यार्थीले मात्रै विद्यार्थीको वास्तविक समस्याको पहिचान गर्दछ, जसले विद्यार्थी आन्दोलनको उठान गर्न मद्दत पुग्दछ ।

८. तपाई आफैं विद्यार्थी संगठनको अध्यक्ष भएको मान्छे, माग पुरा गर्ने नाममा विद्यालय वा क्याम्पसमा तालाबन्दी गर्ने, कक्षा कोठामा हो हल्ला गर्ने, तोडफोड गर्ने विद्यार्थीको पढ्ने वातावरण विगारिदिने जस्ता गलत कुराको शुरुवात त तपाईहरुले गर्नु भएको हैन र ?

हामीले विद्यार्थीकै आवाजको प्रतिनिधित्व गर्दै हाम्रो संगठनले शिक्षासंग सम्बन्धित विभित्र निकायमा मागपत्र बुझाएका छौँ । विद्यार्थीका जायज मागको सम्बोधन गर्नु सम्बन्धित निकायको दायित्व हुन्छ । यदि सम्बन्धित निकाय गैरजिम्मेवार भएर विद्यार्थीको जायज मागलाई बेवास्ता गरेको खण्डमा भने हाम्रो संगठन तालाबन्दी गर्न बाध्य भएको चै हो । हामीले तालाबन्दी गर्दा विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भन्नेमा पूर्णरूपमा सचेतता अपनाउने गरिएको छ । हाम्रो कारणले पठनपाठनमा अवरोध भएको छैन । हामी विद्यार्थीलाई अन्याय र खराबीका विरुद्ध संघर्ष गर्न, देशमै बसेर केही गर्न उत्प्रेरित गर्ने गरेका छौँ । होहल्ला हामीले होइन हामीले आरोप लगाउनेहरुले नै गरिरहेका छन् । हामीले विद्यालय क्याम्पसमा भएका बेथिति, अनियमितता र अराजकतामा खबरदारी गरेर शैक्षिक र प्राज्ञिक वातावरण निर्माण गर्न पहल गरिरहेका छौँ । हाम्रो संगठनको पहलका कारण लुटखसोट गर्न नपाएकाहरुले यस्ता झुट र तथ्यहिन आरोप लगाइरहेका छन् । यस्ता आरोपको कडा प्रतिवाद गर्न आवश्यक छ ।

९. अहिलेको विद्यार्थी राजनीति शैक्षिक मुद्धा भन्दा पार्टीका एजेण्डा त्यसमा पनि विश्वविद्यालय, क्याम्पस र विद्यालयमा पदाधिकारी नियुक्त गर्दा गर्ने चलखेलमा केन्द्रित भईरहेको देखिन्छ । यसलाई कसरी समाधान गर्ने ?

यो प्रश्नले नेपालको संसदवादी विद्यार्थी संगठनको चरित्र र विशेषतालाई बोलेको छ । प्रतिपक्षी आन्दोलनको चरित्रबाट च्युत हुनु र दृष्टिकोण स्पष्ट नहुनुले प्रश्नमा उल्लेखित गलत कार्य हुने गरेको छ । क्रान्तिकारी विद्यार्थीले यस्ता गलत प्रवृत्तिका विरुद्ध निर्ममतापूर्वक संङ्घर्ष गर्न आवश्यक छ । प्रतिपक्षी चरित्रमा दृष्टिकोण स्पष्ट बनाएर विद्यार्थी आन्दोलनको पुर्नगठनले यस्ता समस्याहरुको समाधान दिन सकिन्छ । विश्वविद्यालय र क्याम्पसमा योग्यता, क्षमता र निरन्तरताका आधारमा पदाधिकारी नियुक्त गर्ने प्रणाली लागु गरिनुपर्दछ ।

१०.  दैनिक हजारौंको संख्यामा युवा विद्यार्थीहरु अध्ययन वा रोजगारीको लागी विदेशिन बाध्य छन् । हाम्रो शैक्षिक प्रणाली र यसमा गर्नु पर्ने सुधारका बारेमा विद्यार्थी संगठनहरु कृयाशिल नहुँदा यो समस्या आएको जस्तो लाग्दैन ?

नेपालको अर्थ राजनीतिक विशेषता दलाल पुजीवादी रहेको छ । नेपालको शिक्षाले मुलुककै अर्थ-राजनीतिक विशेषताको प्रतिबिम्बन गरिरहेको छ । दलाल पुजीवादी व्यवस्थाले उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने, युवा पलायनतालाई रोक्ने र देशमै केही गर्न प्रोत्साहित गर्ने काम गर्दैन । नेपालको शिक्षाले पनि दलाल पुजीवादी व्यवस्था कै सेवा गर्ने भएकोले वर्तमान शिक्षा प्रणालीले सिर्जनशील, सीपयुक्त, उद्यमी र स्वाभिमानी नागरिक उत्पादन गर्दैन बरु यो व्यवस्थाका हालिमुहाली गर्नेहरुको नोकर उत्पादन गर्दछ । मुलुकमा रोजगारी छैन, शिक्षाले सीप दिएको छैन, राज्यको निति वैदेशिक रोजगारलाई प्रोत्साहन गर्ने खालको छ । शैक्षिक माफियाको गिरोह कमिसन खाएर शिक्षाका नाममा प्रतिभा र पुजी पलायन गराउने निति बनाउने कार्यमा समेत प्रभाव राख्न सक्छन् । विद्यार्थी आन्दोलनको भूमिका कमजोर हुनाले यस्ता कार्य खुलेयाम हुने गरेको सत्य हो । हामीले विद्यार्थी आन्दोलनलाई एकताबद्ध बनाउदै सशक्त बनाउन मेहनत गर्नुपर्दछ ।

११. विद्यार्थी राजनीतिलाई सुधार गर्न र शैक्षिक क्षेत्रको गुणस्तर सुधार तथा विकास गर्न के गर्नुपर्ला ?

विद्यार्थी आन्दोलनको गम्भीरतापूर्वक समिक्षा गर्न आवश्यक छ । सर्वप्रथम त विद्यार्थी संगठनहरुले आफ्नो दृष्टिकोणलाई स्पष्ट गर्न जरुरी छ साथै प्रतिपक्षी चरित्रमा एकताबद्ध गर्नुपर्दछ । विद्यार्थी आन्दोलनमा क्रियाशील नेताहरूको व्यबहार र जीवनशैलीमा पनि समिक्षा गर्न आवश्यक छ । समयानुकूल एजेन्डाहरुको परिमार्जन, आन्दोलनको तरिकामा नयाँपन र वास्तविक विद्यार्थीको संगठन बनाउन सकिएमा विद्यार्थी आन्दोलनले नयाँ जागरण पैदा गर्न सक्दछ, आफ्नो भूमिकामा खरो उत्रन सक्दछ । 

नेपालमा शिक्षाको गुणस्तरको मानक गलत छ। शिक्षाको गुणस्तर पास हुनु र राम्रो अंक प्राप्त गर्नुसँग हुदैन, सर्वप्रथम यो बुझाइ परिवर्तन गर्न आवश्यक छ। शिक्षाको सम्बन्ध जीवन र व्यबहारसँग हुनुपर्दछ । आजको आवश्यकता शिक्षामा आमूल रुपान्तरणको हो । शिक्षामा आम सुधारले विद्यार्थी र अभिभावकलाई राहत दिन सकिन्छ । शिक्षा क्षेत्रमा भएको विभेद र अन्यायलाई न्यूनीकरण गर्न सकिन्छ । शिक्षामा आम सुधारका लागि सर्वप्रथम शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्नुपर्दछ र सम्पूर्ण नागरिकलाई शिक्षाको समान हक व्यबहारमा कार्यान्वयन गरिनुपर्दछ । त्यस्तै अध्ययनसँगै कामको निति लागू गरि पढ्दै कमाउने व्यवस्था कार्यान्वयन गर्नुपर्दछ । शिक्षामा आम सुधार गर्न संघर्ष र पहल गर्नु विद्यार्थी आन्दोलनको तत्कालीन कार्यभार हो ।

१२. अबको विद्यार्थी आन्दोलन अगाडी कसरी बढ्छ र आन्दोलनका अब मुख्य एजेन्डाहरु के हुन्छ्न ?

विद्यार्थी आन्दोलनको तत्कालीन एजेन्डा शिक्षामा आम सुधार र दिर्घकालिन एजेन्डा शिक्षामा आमूल रुपान्तरण गरी वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नु हो । अबको विद्यार्थी आन्दोलन सम्झौताहिन आन्दोलनको रुपमा अघी बढ्नेछ । अबको विद्यार्थी आन्दोलनमा प्रतिभाहरु फुल्नेछ, सिर्जनाहरु गरिनेछ र समाजको क्रान्तिकारी रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । आन्दोलनबाट नेता बन्ने परिपाटीका साथै वास्तविक र नियमित विद्यार्थीको नेतृत्व हुने प्रणाली स्थापित गर्नै पर्दछ । आजको विद्यार्थी आन्दोलनको मूल एजेन्डा राष्ट्रियता, जनतन्त्र, जनजिविका र शैक्षिक विषय नै हुन् ।

अबको विद्यार्थी आन्दोलन विकसित सुचना प्रविधिको अधिकतम उपयोग गर्दै विद्यार्थी र अभिभावकसँग हातेमालो गरेर गरिनेछ । समस्याको गहिरो अुनसन्धान गरेर संघर्षको सुरुवात गरिनेछ र हरेक संघर्षले उपलब्धी हासिल गर्नेछ। विद्यार्थी आन्दोलन पुन: एकपटक त्याग, समर्पण र सिर्जनाको पर्याय बन्नेछ। हामी अध्ययन, अनुसन्धान गर्दैछौं, हामी इमानदार बन्नेछौ र कडा मेहनत गर्नेछौं ।

१३. अन्त्यमा केही भन्नू छ कि ?

मुलुकमा र शिक्षा क्षेत्रमा देखिएको सम्पूर्ण समस्याहरुको दिर्घकालिन समाधान निर्णायक क्रान्ति हो । अब हुने निर्णयाक क्रान्तिमा अग्रभागमा रहेर भूमिका निर्वाह गर्नु विद्यार्थी आन्दोलनको प्रमुख दायित्व हो । निराश नबनौ, हामीसँग संघर्ष गर्नुको विकल्प छैन  । क्रान्ति हुन्छ, क्रान्ति सम्भव छ र हाम्रै समयमा सम्भव छ।