माओवादीमा विप्लव आतंक छेकबारमा जनार्दन र वर्षमान

काठमाडौं, पछिल्लो समय माओबादी केन्द्र र बिप्लव नेकपा बिचको एकताको हल्लाले माओबादीमा तरंग छाएको छ । माओवादी केन्द्रमा अहिले विप्लव आतंक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले केही समयदेखि रैथाने अवसरवादी माओवादीभन्दा विप्लवहरुले आफ्नो सरकारको बचाउ गरेको भन्दै सार्वजनिक रुपमा बोल्न थालेपछि यो आतंक सुरु भएको हो ।

बैठकमा एकताबारे प्रस्ताव आउन सक्ने

माओवादी केन्द्रले २०८० साउन १७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । अन्यथा केही भएन वा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मुडमा परिवर्तन आएन भने विप्लव नेकपासंगको एकताको बिषय उठने छ । यो बैठक माओवादी केन्द्रका भविष्यका लागि निकै महत्वपूर्ण हुने मानिएको छ । माओवादी केन्द्रमा नेताहरुले त्यसदिनको केन्द्रीय कमिटी बैठकमा दुईवटा प्रस्ताव आउन सक्ने आंकलन गरिरहेका छन् । उनीहरुले संकेत गरेअनुसार, अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्नका लागि एकता सम्बन्धी प्रस्ताव ल्याउन सक्ने देखिएको छ ।

एकता प्रक्रियामा जोड्ने चुनाव अघि नै सहमति जुटेको विषय थियो । तर, त्यसले मूर्तरुप भने लिन सकेको छैन । कमजोर संगठन र गिर्दो साखका कारण माओवादीभित्र बाबुरामलाई साथ लिने कुरामा भन्दा पनि विप्लवलाई हात लिने कुरामा निकै चासो देखिएको स्रोत बताउँछ । कार्यकर्ता तहमा विप्लवलाई पार्टीमा ल्याउनुपर्ने तर्क रहेको छ भने नेतृत्वको सपना बुनेका नेताहरु भने विप्लवको विपक्षमा खुलेआमा देखिएका छन् ।

केही नेतामा विप्लव आतंक

माओवादीमा वर्षमान पुन र जनार्दन शर्मा छुट्टाछुट्टै गुट चलाएर बसेका पात्र हुन् । विद्यार्थी होस वा वाइसीएल वा अन्य जनवर्गिय संगठन नै किन नहुन, दुई नेताहरुबीच कसलाई नेतृत्वमा ल्याउने विवाद सतहमै देखिन्थ्यो । त्यसैमा नारायणकाजी श्रेष्ठले समेत गुट चलाएपछि माओवादीमा साना ठूला गुटहरु चुनौतिको रुपमा थिए । यसलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला प्रचण्डले जनार्दन–वर्षमानलाई सन्तुलन मिलाउन पार्टी फुटकाबेला वैद्यलाई साथ दिएका देव गुरुङलाई पार्टि महासचिव बनाए ।

देव गुरुङ महासचिव बनेदेखि नै असन्तुष्ट वर्षमान–जनार्दन पार्टीमा योगदान मात्रै नभएर अप्ठ्यारो स्थितिमा सहयोग गरेका आफूलाई प्रचण्डले वाइपास गर्न खोजेको भन्दै तनावमा देखिन्थे । उनीहरुलाई फेरि नेत्रविक्रम चन्द ’विप्लव’को प्रवेश हुने डरले तनाव सिर्जना गरिदिएको छ । माओवादी केन्द्र र प्रचण्डप्रति अत्यन्तै सहज सुनिन थालेका विप्लवले पार्टी एकता हुने संकेत गर्दै प्रचण्ड नेतृत्वको सरकार बनेकोमा आफू अत्यन्तै खुशि रहेको धारणा नै सार्वजनिक गरेका छन् ।

क्रान्तिकारी सोचका विप्लवलाई माओवादीमा ल्याएर शक्तिशाली महासचिव बनाउने र प्रचण्डको उत्तराधिकारीका लागि तयारी गर्ने आशंका पुन र शर्माहरुले गरेको स्रोत बताउछ । अहिले पुन र शर्माको टीममा शक्ति बस्नेत पनि थपिएका छन् । उनीहरु जे जति गर्न सकिन्छ गरेर विप्लवलाई पार्टीभित्र ल्याउने प्रयासलाई रोक्ने रणनीतिमा लागिरहेको स्रोतहरुको भनाइ छ ।

उपाध्यक्ष कृष्णबहादुर महराले प्रचण्ड र विप्लव बिच पुलको भूमिका निर्वाह गरिरहेका छन् । पार्टीभित्र महराको बढ्दो प्रभाव र विप्लवको संभावित प्रवेशले आफ्नो गरिखाने बाटो नै बन्द हुने डरले २÷४ थान नेताहरु आक्रोश पोखिरहेका छन् । उनीहरुले छेकवारको रणनीति लिइरहेका छन् र महरामाथि जथाभावी आरोप पनि लगाइरहेका छन् । पुन र शर्माले आफूनिकटका पत्रकार र मिडिया हाउसलई प्रयोग गरेर महराविरुद्ध समाचार लेखाइरहेका छन् ।

महरा मार्फत विप्लवले प्रचण्डसँग सम्बन्ध विस्तार गरेकोले महरा र विप्लवलाई मात्र होइन, पछिल्ला दिनमा प्रचण्डलाई समेत पुन र शर्माले अप्ठ्यारो बनाउन थालेका छन् । उनीहरु सार्वजनिक कार्यक्रममै प्रचण्डविरुद्ध बोल्न थालेका छन् । त्यसमा साथ दिनेमा भने नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि रहेको बताइन्छ ।