ठेकेदारको खर्चमा मन्त्री र सचिवहरूको मस्ती ?
काठमाडौं, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मालगायत आधा दर्जनभन्दा बढी कर्मचारी निर्माण व्यवसायीको खर्चमा विदेश भ्रमणमा निस्किएका छन । साउन ८ गते सोमवार उनीहरु नागढुंगा सुरुङ मार्ग निर्माण ठेक्काको जिम्मा पाएको मेघा टेक र स्वछन्द निर्माण कम्पनीले खर्च बेहोर्ने गरी जापान भ्रमणमा निस्किएका छन ।
यतिखेर बर्षातका कारण मुलुक बाढी, पहिरोलगायतको चपेटाको संघारमा रहेको छ । यस्तो प्रतिकुल मौसम कारण ठुलो बर्षात भएर मुख्य राजर्मा अवरुद्ध वा बाढीले पुल बगायो भने तत्काल खुलाउन पहल गर्ने जिम्मेवारी मन्त्रालयको हो ।
यस्तो महत्वपूर्ण जिम्मेवारी पाएकोे मन्त्रालयका जिम्मेवार अधिकारीहरु एकै पटक विदेश भ्रमणमा निस्कनुलाई भने मन्त्रालयका कर्मचारीहरुले अर्थपूर्ण रुपमा लिएका छन । मन्त्री, सचिवले जानु हुँदैन भन्ने पनि होइन । तर, यतिखेर मुलुक वर्षातको सिजन कारण प्रतिकूल अवस्थामा रहेको छ । आवश्यकताको आधारमा मन्त्रीलगायतको कर्मचारीको टोली विदेश सयरमा जान लागेका पनि होइनन् ।
निर्माण व्यवसयीले खर्च बेर्होने भएपछि उनीहरु हौसिएर गएको जानकार स्रोत बताउँछ । उक्त भ्रमण कार्यक्रमा मन्त्रालय, विभाग, आयोजना, निर्देशनालय मातहतका भर्खर सेवा प्रवेश गरेका इन्जिनीयरहरुको टोली गएको भएपनि हुने समाचार स्रोतको दावी रहेको छ ।
तर, मन्त्री ज्वालाको नेतृत्वमा सचिव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देश एवं विकास सहायता समन्वय महाशाखा प्रमुख डा. विजय जैशी, आयोजना प्रमुख नवीनमान श्रेष्ठ, मन्त्रीका स्वकीय सचिव सन्तोष बिसी ठेकेदारलगायतको जम्बो टोली भ्रमणमा निस्किएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सुरुङमार्ग निर्माणमा जापान सरकारको जाइकाले लगानी गर्दै आएको छ । निर्माणको जिम्मेवारी भने नेपाली ठेकेदार कम्पनीले पाएका छन् ।
सरकारले खर्च बेहोर्ने गरी अन्य कुनै अति आवश्यक कार्यक्रममा मन्त्रीलगायतको टोली गएको थियो भने कर्मचारीले आपत्ति जनाउनुपर्ने कुनै विषय थिएन । तर, मन्त्रीजस्तो मुलुककै जिम्मेवार व्यक्ति ठेकेदार कम्पनीको लगानी र लोभलालचमा परेर विदेश भ्रमणमा निस्किनुलाई मन्त्रालयका कर्मचारीहरुले अनौपचारिक रुपमा आलोचना मात्र गरेका छैनन् कि अर्थपूर्ण रुपमा लिएका छन । (साँघु साप्ताहिक, २०८० साउन ८)