गृह र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमाले तयारी

काठमाडौं, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दैसंसद अवरोध गर्ने तयारी गरेको हो ।

उक्त घटनामा नैतिक जिम्मेवारी लिँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्ने एमालेको तयारीलाई अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने नसघाउने भएका छन् ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गृहमन्त्रीको जवाफ मात्र माग गर्ने र राजीनामा माग गर्ने एमालेको तयारीलाई नसघाउने जानकारी दिएका छन् ।

संसदमा गृहमन्त्रीको जवाफ माग गर्ने तर राजीनामा नमाग्ने सचेतकद्धय शाही र परियारले बताए । एमालेले भने उक्त घटनामा नैतिकताको आधारमा दुइृ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

संसद बैठक दिउँसो १ बजे बस्दैछ । बैठकका बारेमा थप एजेण्डा तय गर्न अहिले एमाले संसदीय दलको बैठक बस्दैछ ।