सुन तस्करीमा संलग्न भएको आशंकामा चिनियाँ नागरिक पक्राउ

भाग्न लाग्दा एयरपोर्ट टर्मिनलबाटै पक्राउ

काठमाडौँ , सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहिबार एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । ७ महिना अघि उनी नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको आशंका छ ।

उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अध्यागमनका एक अधिकारीले बताए । उनी मंगलबार बरामद करिब एक सय केजी सुनको कारोबारसँग जोडिएको आशंका छ ।

मंगलबार हङकङबाट आएको स्कुटरको ब्रेक सु भन्दै भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन ल्याउने र ओसारपसार गर्ने कार्यमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् ।