सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने पासवानलाई यसरी समात्यो प्रहरीले

काठमाडौँ, सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई प्रहरीले घट्नास्थलबाटै पक्राउ गरेको छ। सीसीटीभी फुटेजका आधारमा पासवान पक्राउ परेका हुन।

पासवानलाई प्रहरी वृत्त गौशाला लगिएको छ । यसअघि नै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको थियो । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।

पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखेको पुष्टि भएको छ। संयोजक सफलका नाममा रहेको पर्चामा ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस् तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

यसरी पक्राउ परे पासवान

बिहान करिव पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा ‘सिनामंगलस्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडि बम जस्तो देखिने वस्तु राखिएको छ’ फोन आएको थियो। प्रहरी तत्कालै घटनास्थलमा खटियो।

सेनाको टोली डिस्पोज गर्ने प्रक्रिया थाल्दै गर्दा प्रहरी वृत्त, गौशालाको टोली नजिकै रहेको पसलका सीसी क्यामराको फुटेज चेक गर्न थाल्यो। त्यसक्रममा शंकास्पद वस्तु राखिएको पसल अगाडि सडक पारिपट्टी रहेको सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मरमुनिको भाग देखियो ।

बिहान करिव सवा ७ बजे टिसर्ट, निलो पाइन्ट र चप्पल लगाएको व्यक्तिले शंकास्पद वस्तु खसालेको देखिएको थियो । अन्य पसलको पनि सीसी टीभी हेर्दै जाँदा ति ब्यक्ती घट्नास्थल आसपासमै भएको निस्कर्षमा प्रहरी पुग्यो।

हुलियाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्यो। त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट पासवानलाई पक्राउ ग¥यो । उनी उक्त वम जस्तो वस्तु डिस्पोज गरुन्जेल भीडमै रमित हेरेर वसेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको टोली घटनास्थलको पहिलो लाइनमा र त्यसको ठिक पछाडि दोस्रो लाईनमा पासवान उभिएर रमिता हेरिरहेको फोटो र फुटेजहरु समेत देखिएका छन्।

ज्वेलरीका सञ्चालक मने विश्वकर्माका अनुसार उनलाई ५ लाख रुपैयाँ माग्दै धम्कीसहितको फोन पटक–पटक आएको थियो । नदिएपछि शंकास्पद वस्तु राखेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाको विस्तृत अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ।