साँगामा बस दुर्घटना, चालकसहित पाँच जना घाइते
प्रकासित मिति : २०८० श्रावण ३, बुधबार २१:०९
प्रकासित समय : २१:०९
काभ्रे । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका–९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३ः१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।