आफनै हर्कतले पछुताएकी माननीय कामरेड : जब रिसलाई काबुमा राख्न सकिनन्

सुर्खेत, यतिबेला कर्णाली सरकार बजेट पासको चटारोमा छ । प्रदेश सभामा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । कर्णाली सरकारको नेतृत्व गरिरहेको माओबादीको बैठकमा एक्कासी एमाले सांसद दक्षिणा शाही हलमा छिरिन् । माओबादी स्रोतका अनुसार एक्कासी एमाले सांसद हलमा पसेपछि सबै माओबादी सांसदले मुखामुख गरे केहि अर्जेन्ट काम होला सोचे तर संयोग त्यस्तो रहेन् ।

 

आवेगले पानी पानी भएकी उनी हलमा छिरेपछि माहोल बदलियो । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट निस्किएको बजेट किताब भुईमै पछारिदिइन् । बेस्सरी आँखा तर्दै किताब बजारीन मानौँ उनको र त्यो किताबको ठुलै दुश्मनी छ ।

उनले जोडले पछारेको किताब माओवादी सांसद मिलन खड्काको शरीरमा गएर लाग्यो । सांसद मिलन हेरेको हेर्यै भइन । माननीयको रिस सांसद मिलन र किताबसंग थिएन रिस मुख्यमन्त्री र माओबादी बनेका मन्त्रीसंग थियो । बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक मन्त्री मङ्गल शाही लगायत पार्टीका सबै सांसदहरू उपस्थित थिए ।

एक्कासि आएर ढोकाबाट नै हानेको किताबले शरीरमा लाग्ने भएपछि सांसद खड्काले हातले छेकेकी थिइन । एमाले सांसद शाहीले उक्त किताबले भौतिक मन्त्री मङ्गलबहादुर शाहीलाई हानेकी थिइन् । ‘विरोध गर्ने, आफूलाई मन नपरेको कुरा संसदमा बोल्ने हो तर, उहाँले माओवादी दलको बैठकमा आएर किताब हान्नुभयो,’ माओवादी एक सांसदले भने,‘ यो संसदीय मर्यादा विपरीतको कार्य हो जस्तो लाग्छ ।’

उनले भौतिक मन्त्रालयबाट आफ्नो जिल्लाका लागि आउनुपर्ने योजना नआएको रिस ओकल्दै दलकै बैठकमा आएर किताब पछारेको माओवादी सांसदहरूको भनाइ छ ।

‘पछुतोमा सांसद शाही’

एमाले सांसद शाही अहिले पछुतोमा छन । आफूबाट केही कमजोरी भएको बताएकी छन । उनले बैठकमा जानु गलत रहेको बताइन् । साथै उनले भौतिक मन्त्रीलाई आफूले दिएको योजना नआएकाले मन्त्रीलाई किताब बुझाउन गएको बताइन् ।

‘मैले धेरै पटक योजना नछुटाउनुहोला, समस्या छ भनेर ३ वटा योजना दिएको थिएँ ,’ उनले भनिन,‘ ३ वटा नभन्नु भाउजू २ वटा आउँछ भनेर भौतिक मन्त्रीले आश्वासन दिनुभएको थियो । ठिकै छ भनेको थिएँ , किताब ल्याएर हेर्दा एउटै योजना नआएपछि किताब फालेकै हो ।’

उनले मन्त्री शाहीलाई देवर भनेर सम्बोधन गर्छिन् । किताबमा योजना नआएको भन्दै मन्त्री शाही समक्ष किताब फालेको उनले स्वीकार गरिन् ।

बजेट आउँछ भनेर गाउँतिर पनि आश्वासन दिइसकेको र बजेट नआएपछि आफूलाई मन्त्रीले हल्का रूपमा लिएको आरोप पनि उनले लगाइन् ।