देशमा आएको सङ्कटको कारक दलाल पुँजीवादी सत्ता : प्रवक्ता बास्तोला
सुर्खेत, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादले देशमा ठुलो संकट आएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठुलो सङ्कट आएको र यसको कारक दलाल पुँजीवादी सत्ता भएको बताएका हुन ।
संसदीय व्यवस्था स्थापना भएपछि उद्योग कलकारखाना बन्द भएको र विभिन्न भ्रष्टाचारका काण्डहरू घटेको बताए । लामो समयदेखि भुटानी शरणार्थी प्रकरणलाई दबाएर राखिएको भन्दै उनले यो प्रकरणमा विभिन्न शीर्ष नेताहरू जोडिए पनि उनीहरूलाई उन्मुक्ति दिइएको आरोप लगाए ।
उनले भने ललिता निवास प्रकरणमा एमालेका ठुला नेता जोडिएका छन् । सरकारमै रहेका मन्त्रीहरू पनि तमाम भ्रष्टाचारका विषयमा जोडिएका छन्। दलाल पुँजीवादी संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचार नियन्त्रण हुन सक्दैन, देश उँभो लाग्दैन ।
पुँजीपतिहरू मात्रै देशमा फस्टाइरहेको भन्दै उनले नेपालको सम्पत्ति शोषण गरेर विदेशमा जम्मा गर्ने प्रवृद्धि मौलाएको आरोप लगाए । दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीति नै शोषण गर्ने भएकोले यो व्यवस्थालाई बदल्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकता भइरहेको उनको भनाइ थियो ।