बजेटमा समन्वय नगरेको भन्दै गाउँसभामा उपाध्यक्षको सुँक्कसुँक्क
काठमाडौं, बजेट सार्वजनिक गर्नुअघि सामान्यतयाः स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु उत्साहित हुन्छन् । नयाँ आर्थिक वर्षका लागि ल्याइने बजेटले स्थानीयको आर्थिक स्तरमा सुधार ल्याउने धेरैले विश्वास र अपेक्षा गरेका हुन्छन् । तर, यस पटकको बजेटले धेरै वटा पालिकाका धेरै जनप्रतिनिधिलाई निराश बनाएको छ ।
स्रोतको अभाव र जनअपेक्षा वृद्धिका कारण जनप्रतिनिधिहरुलाई बजेट ल्याउन पनि हम्मेहम्मे पर्न थालेको छ । अधिकांश पालिकामा अध्यक्ष र उपाध्यक्षबीच समन्वयको अभावका कारण अझैपनि बजेट आउन सकेको छैन् । ललितपुरको महाँकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा गोलेले बजेट भाषण गर्न नमानेपछि ठूलो हंगामा मच्चिएको थियो ।
बजेट निर्माणको क्रममा आफूलाई पाखा लगाइएको भनेर चित्त दुखाएकी उनले सुँक्कसुँक्क गर्दै बजेट नपढ्ने बताएपछि उपस्थित सबैजना अचम्भित भएका थिए । आफूले सिफारिस गरेका योजनामध्ये कुनैपनि नसमेटिएको र अध्यक्ष गणेश केसीले एकलौटी योजना समावेश गरेको भन्दै बजेट बनाउँदा समन्वय नगरेको उपाध्यक्ष गोलेको आरोप छ ।
विभिन्न क्रियाकलापका लागि रकम विनियोजन गर्ने, अनुदान दिने र स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्नेलगायत विषयवस्तु समेटेर उनले लामै सूची बनाएकी थिइन् । तर, अन्तिममा कुनै पनि विषय बजेटमा नपरेपछि उनले गाउँसभामै दुःखेसो पोखेकी हुन् । अध्यक्ष केसी र नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले ल्याएको योजनाले मात्र प्राथमिकता पाएपछि उपाध्यक्ष गोलेले आँखाभरी आँशु पारेकी हुन् ।
यता, काँग्रेसबाटै निर्वाचित अध्यक्ष केसीले काँग्रेसकै नेताहरुलाई गाउँसभामा बोलाउन नमानेपछि अहिले सोही विषयलाई लिएर पालिकामा रडाको मच्चिएको छ । यसले काँग्रेसभित्रै खैलाबैला भएको बताइन्छ । वडाध्यक्षहरुले गाउँसभामा काँग्रेसबाट निर्वाचित सांसद उदयसमशेर राणालाई प्रमुख अतिथि बनाउन प्रस्ताव गरेका थिए । तर, उनले कसैलाई नबोलाई आफैंले सभा सञ्चालन गर्ने बताएपछि धेरैले असन्तुष्टि जनाएका हुन् ।
त्यसैगरी, ललितपुरको बाग्मती गाउँपालिकामा पनि अध्यक्ष निकटस्थ र उपाध्यक्षबीच बजेट निर्माणको क्रममा चकाचर्की भएको छ । अध्यक्ष वीरबहादुर लोप्चननिकट वडाध्यक्षहरु र उपाध्यक्ष भक्तबहादुर दर्लामीबीच भनाभन भएको बताइन्छ । निर्माण नै नगरिएका योजनाहरुको भुक्तानी दिन वडाध्यक्षहरुले दबाब दिएपछि विवाद बढेको हो । काम नभएका योजनाको मूल्याङ्कन फाराममा सही गर्न आग्रह गरेपछि उपाध्यक्ष दर्लामीले नमानेका हुन् । सोही विषयलाई लिएर अहिले पनि त्यहाँ ठूलै चर्काचर्की भएको छ ।जनाआस्थाबाट