समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ : उपेन्द्र यादव

काठमाडौँ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार घोषणा भएको समाजवादी मोर्चाबाट कोही पनि नडराउन आग्रह गरेका छन्। समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

यादवले यसअघि पनि विभिन्न गठबन्धन र मोर्चा बन्दै भत्किँदै गरेकाले आशंका भएको बताए। तर यो मर्चा निश्चित उद्धेश्य प्राप्तिका लागि बनाइएकाले लामो समय जाने दाबी पनि उनले गरे।

‘यो मोर्चासँग कोही पनि तर्सिनु पर्दैन। यो कसैकाविरुद्ध लक्षित छैन। त्यसकारण कोही नतर्सिए हुन्छ’, उनले भने, ‘कोही साथीहरु मोर्चा घोषणाअघि नै बड्बडाइरहेका थिए। हामी देश र जनताको हितका लागि मुलुकमा अग्रमन र परिवर्तनका लागि अगाडि बढ्छौँ।’

उनले यो मोर्चाले प्रतिगामीहरुसँग संघर्ष गर्ने पनि बताए। ‘प्रतिगमनकारी शक्तिहरु जसले मुलुकको परिवर्तन उल्ट्याउन लागेका छन्। उनीहरुविरुद्ध यो मोर्चा उभिनेछ’, उनले भने, ‘अरु शक्तिहरु नडराए हुन्छ।’