अग्रगमनको पक्षमा नहुनेहरू मोर्चाबाट तर्सिन्छन् : माधव नेपाल

काठमाडौँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन नखोजेको बताएका हुन्।

‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं। कसैलाई तर्साउन पनि चाहेका हैनौं। नतर्सिनुस्, ढुक्क हुनुस्,’ उनले भने। यस प्रगतिको पक्षमा नहुने, अग्रगमनको पक्षमा नहुने, परिवर्तनको पक्षमा नहुनेहरू नै यस मोर्चाबाट तर्सिने पनि उनले बताए।

‘यसो हेर्दा सजिलै गरी नेताहरु बसेका होलान, सजिलै सहमति गरेका होलान्। त्यस्तो होइन। पापड बेल्नु पर्दो रहेछ। शब्द शब्दमा हामीले छलफल गरेका छौं,’ उनले भने, ‘विषयवस्तुमा हामीले गम्भीर बहस गरेका छौं।’