सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

‘एक स्थानीय तह, एक कृषि पाठशाला’ सञ्चालन हुने

धनगढी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उक्त बजेट ल्याएका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ५० करोड र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संंघीय रोयल्टीबाट बाँडफाँटबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ५२ करोड तीन लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने तीन अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, ससर्त अनुदानबाट चार अर्ब ५१ करोड १६ लाख, संघीय समपुरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

‘एक स्थानीय तह, एक कृषि पाठशाला’ सञ्चालन हुने

 सुदूरपश्चिम प्रदेश सरकारले ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रवार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

कृषकको क्षमता अभिवृद्धिका लागि स्थानीय तहहरुसँगको साझेदारीमा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रम सञ्चालन गरिने भएको हो। आगामी आर्थिक वर्ष २०८०/०८१ मा ‘एक स्थानीय तह, एक कृषि पाठशाला’ कार्यक्रमका लागि २ करोड २० लाख बजेट विनियोजन गरिएको छ।